नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर : शल्यक्रिया सेवा


२४ कार्तिक २०७९, बिहीबार
Health

काठमाडौँ । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’ को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’

के हो त थिएटर ?

उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एक साथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथ ल्याव’ हो ।

प्रा डा श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा पाइसक्नुभएको छ । भारतमा यो सेवा लिन भारु १० देखि १५ लाखसम्म पर्दछ । हामीले त्यति नै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौं । हाम्रो ध्येय मुटुका बिरामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो ।’

यस्तो छ कार्डियो सिटी स्क्यानको सेवा

सेन्टरले भित्र्याएको पछिल्लो अत्याधुनिक कार्डियो सिटीस्क्यानले एक धड्कनमा चार सिटीस्क्यान गर्न मिल्ने जनाइएको छ । मुटुको रक्तनलीको सिटीस्क्यान गर्ने काम अत्यन्त जटिल मानिन्छ । नेपलामा पाँच सय १२ स्लाइसको कार्डियो सिटीस्क्यान सेवा सहिद गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ ।

प्रा डा श्रेष्ठले भने, ‘मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा स्वदेशभित्र उपलब्ध गराउन उच्च प्राथमिकताका साथ अनवतररुपमा लागिरहेका छौँ ।’ मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बिरामीले चाहेकै समयमा कार्डियो सिटीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतिसमेत तय गरेको छ । यसका लागि उपकरणको प्रयोगका बारेमा आफ्ना प्राविधिक जनशक्तिलाई विशेष तालिम दिने उनले बताए । सेन्टरले गत वर्ष ७५ हजार बहिरङ्ग, एक हजार सात सय क्याथल्याब सहित मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७