४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी


२४ कार्तिक २०७९, बिहीबार
1509066592Nepal Police

कावासोती । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन् ।

विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिए । मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबी बताउँछन् ।

‘कूल १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत आवश्यकताका सुविधा पनि छैनन्, प्रहरी कार्यालयका प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘सोलारले काम नगर्दा अन्धकार हुन्छ, खानेपानीको समस्या छ, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने अवस्था छ ।’

भाडाको भए पनि प्रहरी कार्यालयको छानाबाट हिउँदमा पर्ने शीत समेत चुहिन लागेपछि त्रिपाल हालेर छोपिएको उनले जानकारी दिए । शान्ति सुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेका छन् । प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।

प्रहरी कार्यालयका लागि भवन निर्माण गर्न गाउँपालिकाको समन्वयमा राजनीतिक दल र स्थानीयवासीको सहमतिसहित अहिलेको भाडाको घर भए नजिकै जग्गा व्यवस्थापन गरेर गृह मन्त्रालय पठाइएको तिवारीले बताए । बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताउँदै उनले भवनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाले छिट्टै प्रहरी चौकीको आफ्नै भवन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७