चिनियाँ मन्त्री ली छ्युन निर्वाचनको मुखैमा किन आउँदै छन् नेपाल ?


२४ कार्तिक २०७९, बिहीबार
LiQuin 20221110154919

काठमाडौं । छिमेकी देश चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन भोलि (शुक्रबार) नेपाल आउने भएका छन् । भूकम्पपछि चीनको सहयोगमा पुनर्निर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेको जनाइएको छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबाहकले चिनियाँ मन्त्रीको नेपाल भ्रमणबारे पुष्टि गरेका छन् ।

‘भोलि उहाँ (ली छ्युन) नेपाल आउन लाग्नु भएको छ । उहाँले चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्नु हुनेछ । उहाँलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ,’ उनले सुनाए ।

निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि उनको भ्रमणलाई राजनीतिक हिसाबले हेर्न नहुने परराष्ट्र स्रोत बताउँछ । ‘उहाँ चिनियाँ सहयोगमा बनेका सम्पदाहरु अवलोकन गर्न आउन लाग्नु भएको हो । उहाँको भ्रमणलाई राजनीतिकरूपले नहेरौं,’ स्रोतले भन्यो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको ९ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ । त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७