‘नो नट अगेन’ काे पक्षमा सर्वोच्चको अन्तरिम आदेश


२४ कार्तिक २०७९, बिहीबार
sarbochha 1

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानलाई कुनै कारबाही नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको छ ।

आज (बिहीबार) न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको हो ।

निर्वाचन आयोगले कात्तिक ८ गते ‘नो नट अगेन’ अभियानलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३(१) बमोजिम कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

आयोगको विज्ञप्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले ‘नो नट अगेन’ अभियानलाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गरेका थिए ।
रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी गरेको व्यवस्थाविपरीत आयोगले ’नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।

रिटमा आइतबार प्रारम्भिक सुनुवाईपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निर्वाचन आयोगले ’नो नट अगेन’ अभियानविरुद्ध जारी गरेको विज्ञप्ति बमोजिमको कुनै कारबाही नगर्नु भन्दै अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । बिहीबार सोही आदेशलाई निरन्तरता दिने आदेश भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७