३० बर्षीया रमाले जन्माइन् तिम्ल्याहा छोरी


२४ कार्तिक २०७९, बिहीबार
baby Born 3

मोरङ । सुनसरीको इटहरी–२० तरहरा की ३० वर्षीया रमा चौहानले आफ्नो पहिलो सन्तानका रूपमा तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् ।

गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल्याहा छोरी जन्माएकी हुन् । आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले छोरी जन्माएकी हुन् । अहिले आमा र तीन वटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार छोरी जन्मिँदा उनीहरूको तौल सामान्यभन्दा निकै कम थियो । एउटाको ८०० र बाँकी दुईटा छोरीको तौल ९०० ग्राम मात्र थियो । अस्पतालका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरूको अवस्था सामान्य छ । अस्पतालकी वरिष्ठ स्त्री, प्रसुति तथा निःसन्तान बिशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुति गरेको थियो ।

हाल आमाछोरी चारै जना खतरामुक्त अवस्थामा रहेको अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अहिले आमाको संलग्नतासँगै छोरीहरूलाई कङ्गारु मदर केयरका निम्त्ति अस्पतालको नर्सरीमा राख्ने तयारी भइरहेको छ ।
उनीहरूको तौल १३ सयदेखि १५ सय पुगेपछि पारिवारिक पालनपोषणको अवस्था विश्लेषणका आधारमा उनीहरूलाई डिस्चार्ज दिने तयारी रहेको अस्पतालले जनाएको छ । शिशुहरूमा अहिले कुनै समस्या नदेखिएकाले भविष्यमा हुनसक्ने सम्भावित जोखिमबाट समेत उनीहरू खतरामुक्त रहेको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीले बताए ।

शिशुहरूको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिनको समय लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल शिशुहरू १४ दिनको भएका छन् । विराट नर्सिङ होमको आईभिएफ प्रविधिका कारण पहिलो सन्तानका रूपमा छोरी पाएपछि लामो समयदेखि निःसन्तान रहँदै आएकी रमाले खुशी व्यक्त गरेकी छिन् । सुनसरीको इटहरी बस्ने रमा भने गत कात्तिक ३ गते विराट नर्सिङ होम भर्ना भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७