पृथ्वी राजमार्ग विस्तार : ४६६ रुख काटिने


२५ कार्तिक २०७९, शुक्रबार
Tree cutting

तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँ बायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरणविज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए । ‘सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ‘काट्नै पर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए । सडक विस्तारका क्रममा सडकका दायाँ बायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उनले भने, ‘आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।’ जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन् । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७