सत्ता गठबन्धनकाे शनिबार चितवनमा चुनावी सभा


२५ कार्तिक २०७९, शुक्रबार
Gathabandhan new

काठमाडौँ । सत्ता गठबन्धनले भोलि (शनिबार) चितवनमा चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आसन्न निर्वाचन लक्षित संयुक्त आमसभा गर्न लागेको हो ।

भरतपुरमा हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू चितवन शनिबार जाने कार्यक्रम छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् । गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् ।

यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ । यहाँ नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७