झापा–३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन


२६ कार्तिक २०७९, शनिबार
rajendra lingden 3

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् ।

भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।’ राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए ।

‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै’, झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले भने, ‘हामी आ–आफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भए जस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।’

झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ । आफ्नो चुनावी जीत सुनिश्चित भएको उनको भनाइ छ । मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताए ।

विसं २०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उनको दाबी छ । ‘हल्दिबारी, कचनकललगायतका बासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नुपर्ने स्थिति थियो’, उनले भने, ‘अहिले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७