ठाकुर गैरे : संकटमा शहरले खोज्ने ‘आन्दोलनकारी’ गाउँ बदल्ने संकल्प बोकेर पाल्पामा


२६ कार्तिक २०७९, शनिबार
Thakur Prasad Gaire scaled

आम मान्छेका लागि राजनीति त्यति धेरै प्रिय छैन । नेताहरू प्रिय छैनन् । राजनीतिमा पनि केही यस्ता पात्र र नामहरू छन्, जसलाई सबैले प्रिय ठान्छन्, माया र श्रद्धा गर्छन् । लामो राजनीतिक आरोहमा पनि आफ्नो इमान र प्रतिष्ठालाई बचाइराख्न, निष्ठा र आदर्शको राजनीतिलाई जोगाइराख्न सफल असाध्यै कम छन् ।

ती थोरैमध्येका एक नाम हो, ठाकुर गैरे । शहरमा गैरेको पहिचान ‘आन्दोलनकारी’ नेताको रुपमा छ । कुनै आन्दोलन गर्नुपर्ने भयो भने शहरले उनलाई सम्झिन्छ । राष्ट्रिय स्वाभिमान र जनजीविकासँग गासिएका आन्दोलन र भ्रष्टचार बिरोधी सबैजसो आन्दोलनमा गैरै देखिन्छन् ।

शहरमा कुनै संकट पर्दा आन्दोलनको लागि खोजिने नेता गैरे अहिले शहरमा छैनन् । उनी पाल्पामा छन् । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गैरे मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । एमालेका पूर्व नेता सोमप्रसाद सोमप्रसाद पाण्डेय उनका प्रतिस्पर्धी छन् । छैटौं पटक उम्मेदवार बनेका पाण्डेयले चार पटक पाल्पाबाट जितेका छन् । उनै पाण्डेयसँग चुनावी मैदानमा भिडिरहेका गैरले मतदातालाई भनिरहेका छन्, ‘पटक पटक सोमप्रसाद पाण्डेयलाई जिताएर पठाउनुभयो । तपाईहरुले के पाउनुभयो ? अब मलाई जिताउनुहोस् म पाल्पा बदल्छु, तपाईको अवस्था बदल्छु ।’

२०५१, २०५६, २०६४, २०७० मा पाण्डेय २०७४ अघिसम्मका तीनमध्ये २ क्षेत्रबाट उम्मेदवार भएका थिए । २०७४ मा भने दुई क्षेत्र बनेपछि क्षेत्र नम्बर २ बाट टिकट ल्याएका थिए । यसपटक उनी सत्तागठबन्धनका उम्मेदवार हुन् । पाण्डेय नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालका सहोदर सम्धी हुन् । माधव नेपालको सम्धी भएकै कारण गैरे यसअघि पटक पटक उम्मेदवार बन्नबाट बञ्चित भएको चर्चा थियो । २०७० र २०७४ मा जिल्लाबाट गैरेको माग भएपनि अन्तिममा टिकट पाएनन् । पाण्डेयले एमाले छोडेपछि गैरले बल्ल अवसर पाएका छन् ।

किनाराबाट बल्ल मुलप्रवाहको अवसर
पार्टी काममा मात्रै होइन पार्टीको सार्वजनिक छवीलाई उजिल्याउन साझा मोर्चाहरुमा उत्तिकै क्रियाशिल नेता हुन् उनी । गैरेले आम मान्छेको मन जिते पनि नेताहरुको ‘मन’ जित्न नसकेको चर्चा यसअघि हुने गरेको थियो । पाण्डेय हिडेपछि उनले बल्ल अवसर पाएका छन् । आफै लडेर हासिल गर्नुपर्ने मोर्चामा विजय प्राप्त गरिरहेका गैरेले पार्टीले दिएर जित्नुपर्ने मोर्चामा भने जिम्मेवारी पाएका थिएनन् ।

Thakur Gaire


त्यही भएर उनी एमालेभित्रका उपेक्षित नेता अर्थात् किनारामा पारिएका नेताका रुपमा चिनिन्थ्थे । पार्टीले जिम्मेवारी र अवसर नदिएपनि पार्टीको सार्वजनिक जीवनलाई उज्यालो पार्नका लागि आफैले ‘फोरम’ सृजना गरेर क्रियाशिल नेता गैरे एमालेभित्रका ‘सिमान्तकृत’ नेता जस्तो थिए । तर लामो समयदेखि माधव नेपाल समूहमा लागेपनि माधव नेपालकै कारण टिकटबाट बञ्चित भएको चर्चा हुन्थ्यो । माधव नेपाल पार्टी छोडेर हिडेपछि उनले किनाराबाट मुलप्रवाह हुने अवसर पाएका छन् ।

जनआन्दोलनपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा ०४९ र ०५१ मा म लगातार दुई कार्यकाल स्ववियु सचिवमा भए । ०५५ सालमा तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा भएको राष्ट्रिय स्वाधीनताका पक्षमा गरिएको कालापानी मार्च होस् या रवीन्द्र अधिकारी अध्यक्ष भएपछि मातृभूमिको सन्देश कार्यक्रम उनी त्यसका एकजना जोदाहा थिए ।

उनी अध्यक्ष भएको बेला गरिएको ‘सुस्ता बचाऊ अभियान’ले सबैको मन जितेको थियो । उनको नेतृत्वमा पाँच हजार ६ सय विद्यार्थीसहित त्यतिवेला हामीले मार्च पास गरिएको थियो । पहिलो जनआन्दोलनमा पाल्पामा उत्रिएका गैरे दोस्रो जनआन्दोलनमा काठमाडौंमा थिए । दोस्रो जनआन्दोलनका चर्चित विद्यार्थी नेता मध्येका उनी पनि एक हुन् ।

विद्यार्थी आन्दोलनबाट बिदा भएपछि पनि निरन्तर सक्रिय भए । उनको नेतृत्वमा नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा अभियान सञ्चालन भयो । जनआन्दोलनका दमनकारी लोकमानसिंह कार्की बिरुद्धको अभियान, एनसेल कर छली प्रकरणका दोषीलाई कारबाही र कर असुलीका लागि राष्ट्रिय अभियान सञ्चालन भए ।

भारतीय नाकाबन्दीविरुद्ध सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय, पुल्चोकसम्म बृहत् मानव हातेसाङ्लो कार्यक्रम सम्पन्न गरिएको थियो । उनी भन्छन्, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पहिचान आज नेकपा एमालेको नारा बन्दा त्यतिवेलाका थुप्रै अभियानले सार्थकता पाएकोमा धेरै गौरवको अनुभूति हुने गर्छ ।’ आज एमालेले जुन उचाई र लोकप्रियता हासिल गरेको छ, त्यसको मुख्य कारण एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा चलाएको अभियान नै हो । यो अभियानको एक जोदाहा हुन्, गैरे ।

उनीपछि अखिलको नेतृत्वमा आएका धेरै नेताहरुले यसपालीको निर्वाचनमा टिकट पाए । जिते । उनीपछि र उनीभन्दा कम सक्रियहरुले टिकट पाइराख्दा गैरेले यस पटक प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको चुनावमा प्रत्यक्ष र समानुपातिक पाएनन् । तर, टिकट नपाए पनि पाल्पा गएर वाम उम्मेदवारलाई जिताउन अहोरात्र खटे ।

पहिलो संविधानसभाको निर्वाचन हुँदा उनी अनेरास्ववियूका अध्यक्ष थिए । चुनाव लड्ने चाहना थियो । टिकट पाएनन् । विद्यार्थीका विषयलाई संविधानसभामा उठाउन भन्दै अध्यक्षलाई सभासद बनाउने निर्णय केन्द्रीय कमिटीबाट भयो । तर, उनी छानिएनन् । दोस्रो संविधानसभाको निर्वाचनमा पनि पाल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस भए । पार्टीले उनलाई समानुपातिकको सूचीमा राख्यो । तर, पछि उनी छनोटमा परेनन् ।

आफ्नै पौरखमामा स्थापित नेता
पार्टीहरुमा यस्ता धेरै नेता हुन्छन्, जो कुनै समूहले हुक लगाएर माथि तानिएका हुन्छन् । गैरे विगतमा शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्थे । तर उनी निरन्तर नेतृत्वमा आइरहे । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली कुनै पनि प्यानलमा परेका थिएनन् । तर प्यानल बाहिरबाटै केन्द्रीय सदस्य जिते । नवौं र दसौं महाधिवेशनबाट पनि केन्द्रीय जिते ।

निष्कलंक छवि

विद्यार्थी राजनीतिको सफल नेतृत्व गरेर पार्टी राजनीतिमा क्रियाशिल गैरेको सबैभन्दा ठुलो सम्पति हो, निष्कलंक छवि । उनी नेपाली राजनीतिको औलामा गन्न सकिने यस्ता नेता हुन्, जसको निष्ठा र इमानमाथि कसैले प्रश्न गर्न सक्दैनन् ।

thakur gaire cpn leader scaled

पाल्पाको लागि उनको दोस्रो बलियो पक्ष हो, उनी नयाँ हुन् तर निरन्तर पाल्पासँग जोडिएका छन् । चुनाव अभियानहरुमा दौडिरहेका गैरे आफ्नो जित सुनिश्चित भएको बताउँछन् । भन्छन्, ‘पाल्पाको समृद्धिको लागि मसँग स्पष्ट मार्गचित्र छ । इच्छाशक्ति छ । उर्जा छ । त्यही भएर मेरो जित सुनिश्चित छ ।’

नाता, पद, पैसाको बलमा चुनाव जितेर जनताको लागि केही नगर्ने नेतालाई यसपाली पाल्पाली नेताले विदा गर्ने गैरेको दाबी छ । भन्छन्, ‘पैसाले मतदाता किन्ने, शक्तिले मतदाता प्रभावित गर्ने, अनि चुनाव जितेर माखो नमार्ने र जनताको पक्षमा केही काम नगर्ने प्रवृत्तिलाई अब सचेत पाल्पाली जनताले सधैंको लागि विदा गर्नेछ । गैरे आफू विकासको पक्षधर पाल्पालीहरुको साझा नेता भएको दाबी गर्छन् । भन्छन्, ‘म एमालेको उम्मेदवार भएपनि पाल्पाको विकास र समृद्धिको पक्षमा रहेका सबै मतदाता मेरो पक्षमा हुनुहुन्छ । सबै दलसँग समन्वय गरेर पाल्पाको विकासमा म लाग्छु ।’

गैरे नयाँमात्र नभई राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको सफल युवा नेता भएकाले जनताले मत दिने एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको दाबी छ । भन्छन्, ‘पाल्पालाई समृद्ध बनाउनको निम्ती यसपाली पाल्पाली जनताले सफल युवाको पक्षमा मत दिनुहुन्छ । आफ्नो प्रतिनिधि बदल्नुहुन्छ ।’

पाल्पा क्षेत्र नं. २ मा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा गैरेलाई सहज छ । यो क्षेत्रमा ३० हजार ५ सय ३६ मत पाएको थियो । नेपाली कांग्रेसले २९ हजार ३९ मत पाएको थियो । माओवादीले भने ४ हजार ३ सय १३ ले पाएको थियो । पाण्डेयको दल एकीकृत समाजवादीले ४ सय ३३ मतमात्रै पाएको थियो ।

त्यसो हुँदा पाण्डेयको भर कांग्रेस र माओवादीमाथि छ । पाण्डेयले पटक– पटक जितेपनि पाल्पाको विकासमा चासो नदिएको आरोप खेपिरहेका छन् । गैरेले भने एक पटक अवसर पाए पाल्पा बदलेर देखाउने दृढता व्यक्त गरीरहेका छन् । भन्छन्, ‘मसँग विकासको मार्गचित्र छ । पाल्पा बदल्ने संकल्प र सहास छ । उर्जा र उत्साह छ । म पाल्पाको विकासको लागि सबैसँग समन्वय गर्न सक्छु । दौडिन सक्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७