भोजपुर समृद्धिको मार्गचित्र बोकेर मैदानमा शेरधन


२६ कार्तिक २०७९, शनिबार
Sherdhan Rai

२०७४ को आम निर्वाचनमा शेरधन राई भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभाका उम्मेदवार थिए । प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने तयारी सहित प्रदेशसभामा झरेका राईले उतिबेला भोजपुरे मतदातासँग भनेका थिए, ‘ हाम्रो जिल्ला लामो समयदेखि ओझेलमा प-यो, विकासमा पछाडि प-यो, जहिल्यै मागेर, धाएर सानातिना विकासका मागहरू बोकेर हिड्नुपर्ने अवस्था रह्यो । डाडुपन्यूँ हातमा लिएर प्रदेश नं १ को समग्र विकासको खाका कोर्ने र भोजपुरको विकास र समृद्विमा ध्यान दिने बाचाका साथ प्रदेशमा चुनाव लड्न आएको छु ।’ राई आफ्नो लक्ष्यमा सफल भए । पार्टीभित्रको तिव्र आन्तरिक संघर्षमा पनि खरो उत्रिए । संसदीय दलका मुख्यमन्त्री भए ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य फेरि भोजपुरको चुनावी मैदानमा छन् । यसपाली प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनले यसपाली मतदातालाई भनिरहेका छन् ‘राष्ट्रिय राजनीतिमा अझ बलियो भएर विकास समृद्धि हासिल गरी मेरो जन्मभूमि, कर्मभूमि र मेरा मतदाताहरूको जीवनलाई उकास्न यो पटक मैले प्रतिनिधिसभा सदस्यको रुपमा उमेदवारी दिने निर्णय लिएको हुँ ।’


श्वेतपत्र र मार्गचित्र बोकेर मैदानमा
मत माग्दै राईले अबको गर्ने कामको सूची मात्रै लिएर गएका छैनन् । गरेका कामको लामो सूची पनि लिएर गएका छन् । त्यो सूचीलाई उनले श्वेतपत्र भनेका छन् । श्वेतपत्रमा भनेका छन्, प्रदेश सभामा मैले के मुख्यमन्त्री भोजपुरको मात्र हो ? भन्ने आरोप खेपेको छु। तर मैले चुनावमै भनेको थिएँ—डाँडुपन्यू हातमा भएपछि ओल्टो कोल्टो आफ्नोमा गर्न सकिन्छ । भोजपुरको विकास र समृद्वि मेरो सपना भएकोले बजेटमा ओल्टो कोल्टो गरेर धेरै बजेट र आयोजना मैले राखेकै हो ।’

तीन वर्ष छ महिना सात दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा भोजपुरका ४२४ आयोजनामा ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रूपैयाँ बजेट विनियोजन गरेको राईको श्वेतपत्रमा उल्लेख छ ।

उनको कार्यकालमा सबैभन्दा बढी ६७ वटा सडकका लागि २ अर्ब २७ करोड ५९ लाख ४० हजार बजेट विनियोजन भएको छ । त्यस्तै २ अर्ब ३६ लाख ११ हजार बजेट बहुवर्षीय सडकका लागि पठाइएको छ । जसमा १८ करोड ७७ लाख लागतमा टक्सार एयरपोर्टदेखि भोजपुर सदरमुकामसम्म पिच गरिएको छ । ८२ करोड ९१ लाख ५४ हजार लागतको षडानन्द नगरपालिकामा पर्ने फालिदोबाटो–तुर्के कालोपत्रे कार्य निर्माणाधीन छ । टक्सार–डडुवा मानेभञ्ज्याङ–बैकुण्ठे–बासिखोरा–यूँ–बालंखा–रानीटारको दुई प्याकेजमा बन्न लागेको ९८ करोड ६७ लाख ५७ हजार लागतको सडक पनि निर्माणाधीन छ ।

भोजपुरलाई तराईसँग छोटो दूरीमा जोड्ने सुनकोशी चुहार हसनपुरदेखि घोडेटार–भोजपुर–दिङ्ला हुँदै भविष्यमा चीनसँगको नाका संखुवासभाको किमाथांका जड्ने सडकको पहिलो खण्डअन्तर्गत १ अर्ब १० करोड लागतको ठेक्का प्रक्रियामा रहेको श्वेतपत्रमा उल्लेख छ ।

राईले मुख्यमन्त्री ग्रामीण सडक ४ वटामा ८ करोड ८८ लाख, ६० वटा सडक स्तरोन्नति तथा मर्मतमा ६० वटा १९ करोड ३५ लाख २९ हजार, सडक पुल १२ वटामा ८२ करोड ८३ लाख १२ हजारको आराहारी, १२ वटा झोलुंगे पुलमा १ करोड ७६ लाख, खानेपानी ३६ वटामा करिब ६६ करोड ६५ लाख, ११ वटा लिफ्टिङ खानेपानी आयोजनामा ५१ करोड ४ लाखभन्दा धेरै, सिँचाइ १६ वटामा ४ करोड ६ लाख, खेलकुद पूर्वाधारमा २५ वटा २८ करोड ९७ लाख, पर्यटन ३६ वटामा २९ करोड २७ लाखलगायतका योजना श्वेतपत्रमा समावेश गरेका छन् ।

Sherdhan Rai

शतिसाल जस्तै शेरधन
भोजपुर जिल्लाबाट ०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक विजयी हुँदा उनकोे उमेर थियो, २७ वर्ष । उतिबेला प्रतिनिधिसभाको कान्छो सदस्य ‘कान्छो सांसद’को रुपमा उनको चर्चा थियो ।

२०५६ सालमा संसदीय चुनाव लड्दै गर्दा उनी २७ बर्षे लक्का जवान थिए । आकर्षक र खाईलाग्दो अनुहार । पोष्टरमा उनको तस्बिर देखेर उनका समर्थकहरुले नारा लगाएका थिए,‘भोट कसलाई, हाम्रो कान्छा भाईलाई ।’ भोजपुरमा एमाले विभाजित भएर माले बनेको थियो । भोजपुरमा उतिबेला मालेको दबदबा थियो । स्थापित नेताहरु सबै मालेमा लागेका थिए । उही लक्का जवान कान्छोभाई मैदानमा थिए ।

०५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव थिए । अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा गएपछि उनले एमाले भोजपुरको कमाण्ड सम्हालेका थिए । उनले २०५४ देखि ०७० बैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीको नेतृत्व गरे ।

तत्कालिन पार्टी उपाध्यक्ष अशोेक राईले पार्टी छोडेर नयाँ पार्टी बनाउदै गर्दा धेरै भोजपुरका अगुवा नेताहरुले पार्टी छोडे । त्यतिबेला शेरधन जिल्ला अध्यक्ष थिए । २४ जिल्लाका आदिवासी जनजाति मुलका पार्टी अध्यक्षहरुले एमाले बचाउँ अभियान सुरु गरे ।


कुशल जिम्मेवारी
भोजपुरमा पार्टी निर्माणमा मात्रै होइन उनले राजकीय जिम्मेवारीमा कुशलता पूर्वक जिम्मेवारी निभाए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि उनी संविधानसभामा संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति भए ।

उनी संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो । उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छ ? त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छ ? अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ? जतिबेला लोकमानलाई संसदीय समितिमा बोलाएर उनले प्रश्न सोधे त्यतिबेला लोकमानको जगजगी र आतंक थियो । त्यही बेला जोखिम मोलेरै उनले समितिमा बोलाएका थिए ।

त्यसपछि उनी सञ्चारमन्त्री भए । सूचना तथा सञ्चारमन्त्री भएको बेला पनि उनले नीति निमार्णको सन्दर्भमा राम्रो काम गरेका थिए । उनी सञ्चार मन्त्री भएको बेला बनेको आमसञ्चार नीति निकै उपलब्धी मानिन्छ । यसपछि राई २०७४ फागुन २ गते प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीमा नियुक्त भए ।

उनले प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीको रुपमा तीन वर्ष ६ महिना ७ दिन मात्रै काम गरे । । तर उनीमाथि प्रदेशको नाम राख्न नसक्ने मुख्यमन्त्रीको रुपमा आलोचना र आरोप छ । यो आरोप बारेमा शेरधन भन्छन्, ‘ म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मैले प्रदेशको नाम राख्न नसकेको वा मेरो कारणले प्रदेशले नाम नपाएको भन्ने कदापि होइन । हामीले राजधानी टुंग्यायौं, तर नाम टुंग्याउन पार्टीहरू तयार भएनन्। प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा भएको र दुईतिहाई माननीय सदस्यहरूको मतबाट टुंग्याउनुपर्ने संवैधानिक ब्यवस्था रहेकोले मैले सरकार प्रमुखको हैसियतमा छलफल, परामर्श र सहजीकरण गर्ने काम गर्दागर्दै म सरकारबाट हट्नुप-यो ।’


समृद्धिको मार्गचित्र बोकेर मैदानमा
उनले भोजपुरको समृद्धिको मार्गचित्र बनाएर मतदाताको बिचमा गइरहेका छन् । उनले भनेका छन्, ‘एक इमान्दार, स्वच्छ र यस पटकको निर्वाचनमा जिल्लाको एक मात्र डाडुपन्यू चलाएको अनुभव भएको उम्मेदवार भएको कारण तपाईंहरूको अमूल्य मतबाट म यसपटक भोजपुरलाई विकास र समृद्धिको उचाईमा पु¥याएरै छाड्ने अठोट गर्दछु ।’

सडक, सडकपुल, सभाभवन, लिफ्टिंग खानेपानी र सिँचाईका आयोजनाहरू, कृषि वन, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, खेलकुद मैदान, रंगशाला, पर्यटकीय पूर्वाधारहरू, मुन्धुम ट्रेल जस्ता महत्वपूर्ण आयोजनाहरू लगायतमा करिब पाँच अर्ब बजेट यसअघि राखेको र अब श्रृखलाबद्ध विकास योजनाहरु सुरु गरिने उनले बताए । भोजपुरलाई विकासको हिसाबले पनि नमुना जिल्लाको रुपमा विकास गर्ने उनको भनाई छ । भन्छन्, ‘हाम्रो विगतको इतिहास जस्तो गौरवमय छ, अब हामी भबिष्य पनि उस्तै सुन्दर बनाउँनेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७