जाजरकोटको बिम्ब र जाजरकोटीको जीन्दगी बदल्ने अवसरको खोजीमा निरज


२७ कार्तिक २०७९, आईतवार
niraj acharya

काठमाडौं : कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोट । काठमाडौंतिरबाट फर्केर हेर्दा जाजरकोट धेरै पर देखिन्छ । अशिक्षा, अभाव, महामारी, पहिरो आदि जाजरकोटसँगै आउने बिम्ब हो । शहरमा जाजरकोटबाट जहिल्यै अशुभ खबर आइपुग्छ । ‘जाजरकोटमा झाडापखालाको महामारी’, जाजरकोटमा पहिरो जादा यति जनाको मृत्यु । यस्ता समाचारहरुसँग जाजरकोटको परिचय जोडिएको छ । यस प्रकारको समाचारहरु जाजरकोटको हकमा जहिल्यै दोहोरीरहन्छ ।

हरेक चुनावहरुमा उम्मेदवारहरुले भन्छन्, ‘अब जाजरकोटको समस्या सम्बोधन गर्नेछौं ।’ तर भेरीमा धेरै पानी बगीसक्यो जाजरकोटीहरुको जीन्दगी उस्तै छ । उही अभाव, महामारी संकट, अशिक्षा, बेरोजगारी दोहोरीरहन्छ । यही कष्टपूर्ण जीन्दगी बदल्ने संकल्प बोकेर निरज आचार्य अहिले जाजरकोटको दुर्गम बस्तीहरुमा पुगिरहेका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य आचार्य प्रतिनिधिसभा सदस्यका लागि जाजरकोटबाट उम्मेदवार बनेका छन् । उनी भनिरहेका छन्, ‘पटक पटक अरुलाई जिताएर पठाउनुभयो । हाम्रो जीन्दगी उस्तै छ । हाम्रो जिल्ला उस्तै छ । एक पटक मलाई जिताएर पठाउनुहोस् । म जाजरकोटको बिम्ब र जाजरकोटीको जीन्दगी बदल्छु ।’

जाजरकोटको जीन्दगी बदलिएको खबर काठमाडौं शहरतिर पठाउने संकल्प छ, उनको । भन्छन्, ‘जाजरकोटमा यस्तो विकास भयो । यहाँका मान्छेहरुको जीन्दगी यसरी बदलियो जस्ता समाचार शहरमा पठाउने गरी हामी काम गर्नेछौं । महामारी भनेकै जाजरकोटमा हुन्छ, अभावमा बाँच्ने नै जाजकारकोटी हुन् भन्ने बिम्ब भत्काउँन चहान्छौं ।’

Niraj Acharya 1


संगठनमा निरन्तर निरज
२०३३ सालमा जाजरकोटको जगतिपुरमा जन्मिएका निरजले २०५४ देखि यता जाजरकोट दुःखलाई नजिकबाट देखेका छन् । जाजरकोटीहरुको दुःखलाई नजिकबाट छोएका छन् । २०५४ सालको स्थानीय चुनावमा नै उनी जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए । उतिबेला उनी मात्रै १८ वर्ष कटेका थिए ।

जिल्ला विकास समितिको सदस्य भएसँगै एमालेको युवा संगठन प्ररायु संघको महाधिवेशन सहभागी भए । २०५४ चैतमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निरजले केन्द्रीय सँगै, तत्कालीन भेरी अञ्चल संयोजक तथा इन्चार्जको जिम्मेवारी पाए ।

०५८ मा केन्द्रीय कार्यालय सचिव नै बने । विराटनगरमा २०६३ सालमा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट उनी संगठन विभाग प्रमुख र लहानमा सम्पन्न सातौं महाधिवेशनबाट महासचिव बने । आठौं महाधिवेशनमा उनी युवा संघको अध्यक्षकै दावेदार थिए, तर पराजित भए ।

उनी २०५४ देखि लगातार जिल्लाको पार्टीको भूमिकामा पनि थिए । ९ वर्ष जिल्ला सदस्य, यसपछि भेरी अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य र केन्द्रीय श्रम तथा रोजगार विभाग सचिवको भूमिकामा क्रमशः रहे । ३ जेठ २०७५ मा माओवादी केन्द्रसँग एकता भएपछि निरज पार्टीकै केन्द्रीय सदस्य भए । दशौं महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य दोहोरिए ।

बदल्ने अवसरको खोजी
त्यसो त निरजले २०७४ को निर्वाचनमा नै प्रदेशसभा क बाट टिकट पाएका थिए । पर्चा छापेर सकेका निरजको अन्तिम समयमा टिकट खोएिको थियो । एमाले माओवादी सिट बाँडफाँटका क्रममा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा दुवै एमालेको भागमा परेको थियो । तर, उम्मेदवारी मनोयनका दिन हुम्लामा एक सिट माओवादीले पाउने भएपछि जाजरकोट एमालेले एउटा छाड्ने सहमति केन्द्रमा भयो ।

निरजले अन्तिम समयमा पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिए । यस पटक उनले प्रतिनिधिसभाको टिकट पाएका छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट पूर्वमन्त्री शक्ति बस्नेत छन् । बस्नेत २०६४ मा समानुपातिकतर्फबाट पहिलो संविधानसभामा पुगे । २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने अवसर पाएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर गृहमन्त्री बने ।

२०७४ को प्रतिनिधिसभा चुनावमा विजयी भएसँगै उनी वन तथा वातावरणमन्त्री भए । एमाले–माओवादी केन्द्र गठबन्धन भएको अघिल्लो चुनावमा ३२ हजार २८१ मतका साथ विजयी बनेका बस्नेतलाई यसपटक सत्ता गठबन्धनको साथ छ ।

बस्नेत सांसद मात्रै होइन पटक पटक मन्त्री भएका छन् । बस्नेतको बलियो पक्ष यही हो । तर निरजले यहीमाथि प्रहार गरिरहेका छन् । भन्छन्, ‘जिल्लाको विकासको लागि पद वा ठुलो नेता होइन उर्जा, उत्साह र जाँगर भएको जनप्रतिनिधि चाहिन्छ । जाजरकोटको बिम्ब र जाजरकोटीको जीन्दगी बदल्न चहान्छु ।’

निरजले जिल्लाको विकासको लागि मार्गचित्र तयार पारेका छन् । उनी भन्छन्, ‘अब जाजरकोटमा विरासत वा इतिहासका कुरा होइन कसले जाजरकोटीको कष्टसाध्य वर्तमानलाई बदल्न सक्छ, उसले अवसर पाउने हो । शक्ति बस्नेत पटक पटक मन्त्री भएर जिल्लाले के पायो ? जाजरकोटी जनताको जीन्दगीमा के परिवर्तन भयो ? यसको हिसाब जनताले राखेका छन् । यस पटक मत बदलिनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७