आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे


२८ कार्तिक २०७९, सोमबार
Dolpa

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो ।

डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से–फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

साउनयता मात्रै दुई हजार चार सय ९२ जना पर्यटकले से–फोक्सुन्डो तालको अवलोकन गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । गत असोजमा परेको वर्षा कारण दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर भेरी करिडोर करिब दुई साता अवरुद्ध हुँदा अघिल्लो वर्षभन्दा करिब पाँच सय पर्यटक घटेको उनले बताए ।

‘अघिल्लो वर्ष तीन हजार पर्यटकले फोक्सुन्डो घुमे, यो वर्ष पाँच सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार र होटेलहरूको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ,’ उनले भने । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७