चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्री हुने सम्भावना बढ्यो : प्रचण्ड


२०७९ कार्तिक २८ सोमबार ०७:१४ बजे

तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताए ।

‘यस पटकको निर्वाचन सामान्य हुने छैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ’, उनले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

‘घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो’, अध्यक्ष दाहालले भने । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष उनले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए ।

उनले नेकपा (एमाले) लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए । ‘संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ’, उनले भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उनले देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गरे । ‘पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो’, अध्यक्ष दाहालले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७