श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने


२८ कार्तिक २०७९, सोमबार
Ranil Bikramasinghe lvZ36KBghd

काठमाडौं । श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने सोमबार बताएका हुन् ।

राष्ट्रपति विक्रमासिङ्घेले सन् २०२३ को बजेट संसदमा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने बताएका छन् । उनले लगानी र बाह्य व्यापार प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने बताए ।

आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने श्रीलङ्काको योजना रहेको उनले बताए । राष्ट्रपति विक्रमासिङ्घेले सरकारी राजस्व वृद्धि का लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्याङ्कन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताए ।

उनले परिमाणात्मक र गुणात्मक तथ्याङ्कका आधारमा उत्पादकत्वका विषयमा अनुसन्धान र अध्ययन गर्न राष्ट्रिय उत्पादकत्व आयोग गठन गर्न पनि प्रस्ताव गरे । आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रस्ताव गरेको सुधार आर्थिक स्थायित्वमा केन्द्रित भएकाले सरकारको आर्थिक सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग भएको सम्झौतामा मात्र सीमित नहुने उनले बताए । सरकारले सुधार र आधुनिकीकरणमार्फत सात देखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिङ्घेले बताए । उनले आर्थिक रुपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७