रुपन्देही–४ : मर्चवारमा विरासत जोगाउन प्रतिस्पर्धा


२९ कार्तिक २०७९, मंगलवार
Rupandehi 4

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार विकासको दृष्टिले तुलनात्मक रुपमा जिल्लाका अन्य क्षेत्रभन्दा पिछडिएको छ । मुलुकका हरेका निर्वाचनमा यो क्षेत्रमा राजनीतिक दल र उम्मेदवारको मुख्य एजेन्डा नै मर्चवारको विकास हुने गरेको छ । तर मर्चवारमा अपेक्षाकृत विकास हुन सकेको छैन । मर्चवार समेत रहेको रुपन्देही क्षेत्र नं ४ मा अहिलेसम्म कुनै पनि जनप्रतिनिधी दोहोरिएर निर्वाचित भएका छैनन् ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले, नेपाली काङ्ग्रेसको तर्फबाट निवर्तमान सांसद प्रमोद यादव, नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) बाट ओमप्रकाश यादव(गुल्जारी), जनता समाजवादीका पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव लगायत चुनावी मैदानमा छन् ।

विस २०७४ को आमनिर्वाचनमा दुई पटक सांसद र आठ पटक विभिन्न मन्त्रालय सम्हालेका शुक्ल र नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका यादवबीच प्रतिस्पर्धा हुँदा ३१ हजार सात सय १८ मत प्राप्त गरी यादव विजयी भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका शुक्लले २० हजार चार सय १६ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा प्रदेशसभा सदस्यमा पनि कांग्रेसले दुवै सिटमा विजयी निकालेको थियो । अहिले पनि यिनै दुई उम्मेदवारहरुबीच प्रतिस्प्रर्धा देखिएको छ । दुवै उम्मेदवार मर्चवारमा आफ्नो विरासत जोगाउने लडाइँमा छन् ।

लोसपाका वरिष्ठ नेता शुक्ल गत निर्वाचनमा पराजीत भए पनि यस पटक भने बिजयी हुने प्रयासमा लागेका छन् । यता नेपाली कांग्रेसका तर्फबाट यस पटक पनि उम्मेदवार बनेका यादव दोस्रो पटक पनि जित्ने प्रयासमा लागेका छन् । यस क्षेत्रका मतदाताको मानसिकता र तथ्याङ्क हेर्दा त्यहाँ लोसपा र काङ्ग्रेसकै बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनमा सहज विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार यादव अहिले पनि आफ्नो जित निश्चित रहेको बताउँछन् । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोदकुमार यादवले ३० वर्षमा हुन नसकेको विकास आफ्नो कार्यकालमा गरेको दाबी गरे । मैले मर्चवारको शिक्षा, स्वास्थ्य, कृषिसँगै भौतक पूर्वाधारमा अहिलेसम्म हुन नसकेको विकास गरेको छु’, उनले भन, ‘काम गर्ने समय डेढ वर्ष मात्र पाएँ, कोभिड र अन्य राजनैतिक खिचातानीका कारण अरू काम गर्ने अवसर नै पाइनँ ।’

उनले मर्चवारको समग्र विकास नै आफ्नो मुख्य एजेन्डा रहेको बताउँछन् । ‘मर्चवारको समस्या बुझ्न भुइँस्तरको मानिस चाहिन्छ’, यादव भन्छन्, ‘मैले जनताको समस्या बुझेको छु, समग्र क्षेत्रको विकासका लागि प्रतिबद्ध छु ।’ मर्चवार क्षेत्रको विकासलाई नै शुक्लले पनि आफ्नो मुख्य एजेन्डा बनाएका छन् । उनले अहिलेसम्म मर्चवारमा विकास नभएको बताए । ‘५ वर्षको समयमा मर्चवारमा केही परिवर्तन आएको छैन, मैले छोडेका मर्चवार नै अहिले छ’, शुक्लले भने, ‘विद्युत् र सिँचाइमा मैले जे सुरु गरेको थिए अहिले पनि सोही अवस्थामा रहेको छ ।’

अन्य स्थानमा नेपाली कांग्रेस र लोसपाबीच गठबन्धन छ । तर रुपन्देही क्षेत्र नं ४ मा मित्रवत् प्रतिस्पर्धा भन्दै दुवै दल तीव्र प्रचारप्रसारमा रहेका छन् । मर्चवारको गत प्रतिनिधिसभाको निर्वाचन तथा २०७९ मै सम्पन्न भएको स्थानीय तहको निर्वाचन हेर्दा तुलनात्मक रुपमा नेपाली कांग्रेस केही बलियो देखिएको छ । यद्यपि मतदाताहरु अहिलेसम्म कसैको पक्षमा खुलेर बोलिरहेका छैनन् ।

यस क्षेत्रको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिकाका सबै वडा, मायादेवी गाउँपालिकाको २, ३, ४, ५, ६ सियारी गाउँपालिका–४ र ५ तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–२, १२ र १३ गरी जम्मा ३१ वटा वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा ३१ वडाहरुमध्ये नेपाली कांग्रेसले १०, लोसपाले १०, जसपाले तीन, एमाले तीन, जनता प्रगतिशील पार्टी दुई, जनमत एक, माओवादी केन्द्र दुई र नेपाल जनता पार्टी एकवटा वडा विजयी भएका छन् । १०-१० वटा वडा जितेका कांग्रेस र लोसपाले अन्य दलका मत तान्ने प्रयासमा रहेका छन् ।

जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धन रहेको छ । दुवैले पाँचवटा वडा जितेका छन् । जनता प्रगतिशील पार्टीले दुईवटा वडा जितेको छ । काङ्ग्रेस र माओवादीको गठबन्धनको कारण माओवादीको दुईवटा वडाको मत पनि यादवलाई नै आउने यादव पक्षको दाबी छ । यसले पनि तुलनात्मक रुपमा लोसपाका शुक्लभन्दा कांग्रेसका यादव केही बलियो देखिने सम्भावना बढेको छ ।

तर स्थानिय तह जस्तो सङ्घीय निर्वाचन नहुने भएकाले यो तथ्याङ्कमा फेरवदल हुन सक्ने आकंलन पनि रहेको छ । गत निर्वाचनभन्दा अहिले मतदाताहरुको सङ्ख्या पनि यस क्षेत्रमा उल्लेख्य रुपमा बढेको छ । नयाँ मतदाताहरुको मानसिकता अनुसार पनि निर्वाचनको नतिजा प्रभावित हुने देखिन्छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा ६२ हजार आठ सय ४७ पुरुष र ४७ हजार आठ सय १२ महिला मतदातासहित एक लाख पाँच हजार ६ सय ५९ मतदाता रहेका छन् । यस क्षेत्रमा ४८ वटा मतदानस्थलमा एक सय २८ मतदाता केन्द्रहरु तोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७