मन जितेका महेश बस्नेत मत जित्नेमा ढुक्क


२०७९ कार्तिक ३० बुधबार ०७:१३ बजे

इलाम । दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै काम गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताको रुपमा चिनिन्छन् महेश बस्नेत । इलाम नगरपालिकाको दुई पटकको नेतृत्व गर्दा महेश बस्नेतले गरेका यस्ता थुप्रै उदाहरणीय कामहरु छन् । इलाम नगरपालिकाकोे पछिल्लो पाँच वर्षे कार्यकालमा बस्नेतले स्थानीय तहलाई सरकारको हैसियतमा स्थापना गर्नका लागि विधि निर्माण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षाका कार्यक्रम, खेलकुद, पर्यटनको क्षेत्रमा सयौं दीर्घकालीन काम गरेर आफूलाई सफल सावित गरिसकेका छन् ।

बस्नेतको नेतृत्वमा इलाम नगरपालिकाको सर्वाधिक २१९ वटा ऐन÷कानुनहरु बनिएका छन् । इलाम नगरपालिका कानुन निर्माणमा अन्य पालिकाको तुलनामा निकै अघि छ । कानुन निर्माणमा अन्य समकक्षीहरुले बस्नेतकै सिको गरेका छन् । अहिले इलाम नगरपालिका बस्नेतकै नेतृत्वमा बनेका कानुनहरुको आधारमा इलाम नगरपालिका चलिरहेको छ ।

पहाडी क्षेत्रमा रहेको प्राविधिक विषय पठनपाठन हुने क्याम्पसको अभावलाई टार्न बस्नेतले पूर्वी पहाडी क्षेत्रमा नै पहिलो पटक स्नातक तह पढाई हुने कृषि क्याम्पस स्थापना गरेका छन् । अहिले क्याम्पसमा कृषि प्राविधिक अथवा बिएसी एजीको पठनपाठन भइरहेको छ । उनकै नेतृत्वमा इलाम सामुदायिक आँखा अस्पताल स्थापना भएको छ । सयौ आखाँका रोगीहरुले अहिले घर आँगनबाटै सेवा पाइरहेका छन् ।

उनैकोे कार्यकालमा निर्माण शुरु भएको चलचित्र हलसहितको बहुतले पार्किङ्ग निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीय तहले सार्वजनिक–निजी–साझेदारी ऐन बनाएर नेपालमा नै पहिलो पटक सिटीमार्ट बनाउन सफल भए, त्यो पनि सार्वजनिक–निजी साझेदारी अवधारणमा । उनकै कार्यकालमा बालबालिकाको लागि फनपार्क निर्माण भएको छ । जनक देव, पारिजात, शंखधर साख्वा, राष्ट्रिय विभूती फाल्गुनन्द, गजराजसिंह थापालगायतको शालिक स्थापना भएको छ भने मजदुरहरुको सम्मानका लागि चोक बजारमा चिया मजदुुरको प्रतिमा पनि उनकै कार्यकालमा स्थापना भएका हुन् ।

बस्नेतले गरेको सार्वजनिक जग्गाको व्यवस्थापन पनि अनुकरणीय छ । बजारभित्रको खोल्सीको ब्यस्थापन गरेर बस्नेतले आँखा अस्पताल, श्रष्टा पार्क, तरकारी बजार, पशुपंक्षी बजार, कभर्ड हल, मोटरसाइकल पार्किङ्ग र ब्यवस्थित मासु पसल निर्माण गरेका छन् । उनकै कार्यकालयमा इलाम नगरपालिकाको भब्य कार्यालय भवन, तीन वटा कभर्ड हल, बास्केटबल कोर्ड निर्माण भएका छन् । एक वडा एक खेल मैदानको अभियान चलाएका बस्नेतको कार्यकालमा माइखोलामा महत्वकाक्षी माई भगवती रंगशाला निर्माण भइरहेको छ । प्रत्येक वडामा खेल मैदान तयार भएका छन् ।

बस्नेतले विभिन्न क्षेत्रगत समिति बनाएर उनीहरुलाई परिचालित गराए । साहित्य कलाको क्षेत्रमा काम गर्न साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन समिति, आदिवासी जनजाति समन्वय समिति, दलित समन्वय समिति, महिला समिति, युवा परिषद गठन, नगर खेलकुद विकास समिति गरेर क्रियाशील गराएका छन् । यसबाट सवै विधाको समानुपातिक विकासमा निकै योगदान गरेको छ ।

इलाम नगरपालिकाको अघिल्लो पटक २०५४–०५९ मा मेयर हुँदा तत्कालीन उपमेयर कृष्णप्रसाद श्रेष्ठ र २ नम्बरका वडाध्यक्ष गणेश राई समेतको पाँच बर्षे कार्यकालमा आफूले पाउने तलव भत्ता बापत रकमबाट तिल्केनीमा १६ रोपनी जमिन खरिद गरेर ३२ परिवार सुकम्बासीलाई लालपूर्जासहित बसोबास गराएका थिए ।

२०१७ साल असार ६ गते इलामको शान्तिपुुरमा पूर्व हवल्दार पदमबहादुर बस्नेत र विष्णुमाया राई बस्नेतको माइला सन्तानको रुपमा बस्नेतको जन्म भएको हो । उनी विद्यार्थी रहँदा २०३०–३१ सालदेखि कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका हुन् । उनी २०३६ सालमा अनेरास्वबियुुबाट मरब क्याम्पसको स्वबियु सदस्यमा निर्वाचित भएका थिए । बस्नेतले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसै बेला प्ररायुुसंघको इलाम नगर सचिव हुँदै उनी नगरको पार्टी सचिवको जिम्मेवारी पुरा गरेका छन् ।

बस्नेत २०५४ को निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका उनी २०६३ देखि जिल्ला सचिवालय सदस्यको रुपमा क्रियाशील रहे । २०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत हाल एमालेको जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा छन् ।

अर्थशास्त्रमा बिए र इतिहास विषयमामा स्नाकोत्तर गरेका बस्नेतले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । त्यस अघि पनि उनी सोही क्याम्पसमा आशिंक प्राध्यापकको रुपमा काम गरेका थिए ।
कुनै बेला कुशल फुटवलर रुपमा चिनिएका बस्नेतले २०३५-०३६ तिर मेची अञ्चलबाट राष्ट्रिय फुटवल प्रतियोगिता खेलेका थिए । उ बेलाको चर्चित राष्ट्रिय प्रतियोगिताहरु अन्तर नगर फुटबल प्रतियोगिता, इन्टर युनिभर्सिटी कम्पिटिसन प्रतिष्पर्धामा सहभागी भएको उनको खेल जीवनको सुखद अनुभव छ । माइभ्याली स्पोर्टिङ्ग क्लबका संस्थापक अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा इलाममा भूकम्पपीडित स्मृति कप फुटवल हुने गरेको थियो । भूकम्पपीडितको उद्धारमा योगदान गरेबापत उनले स्व. राजा वीरेन्द्रबाट भूकम्पपीडित उद्धार पदक प्राप्त गरेका छन् ।

लेखकको रुपमा बस्नेतको ‘कविता’ नामको कविता संग्रह र सुनुवार जातको परिचय नामको किताव प्रकाशित छन् । उनी इलामको पहिलो सामुदायिक रेडियो इलाम एफमको संस्थापक मध्येका एक हुुन् भने उनी नेपाल पत्रकार महासंघ इलाम–पाँचथर संयुक्त शाखाका समेत संस्थापक सदस्य हुन् । उनले क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका दर्जनौ सामाजिक संस्थामा पनि काम गरेका छन् ।

इलामको सवै भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाबारेमा गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावित खाँकाका आधारमा इलामको पुनर्संरचना भएको प्रतिपक्षीहरु स्वयम स्वीकार्छन् । इलामको राजनीतिमा माहिर खेलाडीको रुपमा लिइने बस्नेत इलामको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेद्वार छन् । सामाजिक र राजनीतिक क्षेत्रबाट इलामे नागरिकको मन जितेका उनै बस्नेत अहिले मत जित्ने दौडमा छन् ।

खनाल र बस्नेतबीच मुख्य प्रतिस्पर्धा
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सातौं पटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लािग चुनावी प्रतिस्पर्धामा छन् । विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भए बाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नु परेको छैन । गत आमचुनावमा नेकपा (एमाले) का तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेका थिए ।

यस पटक कांग्रेससहितको सत्ता–गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत छन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिएका छन् । आफ्नै पार्टीका पूर्व अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँगको संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्दै इलाम–१ मा खनालको विरासत भत्काउने दौडमा छन् बस्नेत ।

इलाम क्षेत्र नं १ को प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की नेत्री एवं प्रदेश नं १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७