पुराना सहयात्री मैनाली र तामाङ अहिले प्रतिस्पर्धी


२०७९ कार्तिक ३० बुधबार ०७:४२ बजे

नुवाकोट । मंसिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका अहिले सहयात्री भएका छन् ।

क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ चुनावी मैदानमा छन् । नेकपा एमालेको तर्फबाट बद्री मैनाली उम्मेदवार छन् । तामाङ र मैनाली अघिल्लो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी तालमेलको कारण सहकार्यमा थिए । सोही सहकार्यले २०७४ मा तामाङ प्रतिनिधिसभा र मैनाली प्रदेशसभामा निर्वाचित भएका थिए । मुलुकको राजनीतिक परिदृश्यमा आएको बदलाबसँगै मैनाली र तामाङ फरक कित्तामा छन् र अहिलेको निर्वाचनमा आमनेसामने भएका छन् ।

यो क्षेत्रमा मैनाली र तामाङबीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । एमाले उम्मेदवार मैनालीले टोखा–छहरे सुरुङ मार्गको काम अघि बढाउने विषयलाई चुनावी एजेण्डाको प्राथमिकतामा राखेका छन् । उम्मेदवार मैनालीले भने, ‘पासाङल्हामु मार्ग जीर्ण अवस्थामा छ, यसलाई पूरा गराउने छौँं । क्षेत्र नं १ का ४५ कृषि सडक जीर्ण छन् । तिनको स्तरोन्नति गरी पालिकासम्म पुग्ने बाटोलाई सहज बनाउने छौँ । दुप्चेश्वर, बाघमारामा केवलकार निर्माणको लागि पहल गर्नेछौँ ।’ उनले आफ्ना क्षेत्रमा विगतमा सुरु भएका राम्रा कामलाई पूर्णता दिन लागिपर्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार तामाङले पनि विकासको विषयलाई चुनावी एजेण्डा बनाएका छन् । तामाङले नुवाकोटको लाइफलाइन छहरे–टोखा सडक बाह्रैमहिना सञ्चालन हुने बनाउने, हरेक पालिकामा सडक कालोपत्र गर्ने, कृषि उपजको उत्पादन र बजारीकरण लगायत र विगतमा थालिएका योजनालाई सम्पन्न गराउने चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।

यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेले पालिका अध्यक्ष-उपाध्यक्षमा एउटा पनि हात पार्न सकेन । ७ वटा स्थानीय तह रहेको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा तीन वटा पालिकामा अध्यक्ष-उपाध्यक्ष नै र एउटामा उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जित्न सफल भएको छ भने बाँकी नेपाली कांग्रेसले जितेको छ । कांग्रेस र माओवादी चुनावी गठबन्धन नभएको निर्वाचनमा माओवादी र कांग्रेसले नै स्थानीय तह जितेको थियो । अहिले कांग्रेस–माओवादीसहितको गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।

गठबन्धन र एमाले उम्मेदवारसँग टक्कर लिन साना तथा नयाँ दल र स्वतन्त्रका उम्मेदवारको लर्को लामै रहेको छ । क्षेत्र नं १ मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । हाम्रो नेपाली पार्टीकी उम्मेदवार सफलता बोगटी आफ्नो चुनावी माहौल उत्साहजनक रहेको बताए । लौरो चुनाव चिन्हको लागि मात्र हाम्रो नेपाली पार्टीसँग तालमेल गरेको बताउने बोगटी आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा परिचित गराउन चाहन्छन् ।

उम्मेदवार बोगटीले बहुआयामिक गरिबीको सूचकाङ्कमा सुधार गरी नुवाकोटवासीलाई गरिबीको रेखाबाट माथि उठाउन काम गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा. प्रधुम्न महत आफू बलियो उम्मेदबार भएको र मतदाताले साथ दिने बताउँछन् । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २०५१ सालदेखि लगातार जित्दै आएको यो क्षेत्रमा २०७४ मा नेकपा एमाले माओवादी गठबन्धनबाट हितबहादुर तामाङ निर्वाचित भएका थिए ।

क्षेत्र नं. १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ मा ५९ हजार चार सय ५९ र प्रदेश २ मा ६१ हजार दुई सय ९३ मतदाता छन् । प्रदेश क्षेत्र नं १ मा माओवादीका राधिका तामाङ र एमालेका सुशीलकुमार खड्का र प्रदेश क्षेत्र नं २ मा कांग्रेसका रमेशकुमार महत र एमालेका पूर्णलाल श्रेष्ठबीच नै मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । प्रदेश १ मा तामाङ र खड्कासहित सात जना र प्रदेश २ मा महत र श्रेष्ठसहित नौजना उम्मेदवार चुनावी मैदानमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७