तनहुँ जलविद्युत आयोजनाको ५६० मिटर सुरुङ निर्माण


२०७९ मङ्सिर १ बिहीबार ०७:३४ बजे

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो ।

पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए । डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने, ‘आयोजनाले चौविसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज २ अन्र्तगत १,२ र ३ को पावरहाउस जाने टनेलको सबै कार्य सम्पन्न भइसकेको छ ।

जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट विद्युत् उत्पादन कार्यका लागि निर्माण कार्यलाई तीब्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान कार्यका लागि स्टील फर्म वक्स भैरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी प्याकेज दुई अन्तर्गतको विद्युत गृह खन्ने काम समेत सम्पन्न भैसकेको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको उनले बताए ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो । सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीको १५ करोड लगानी रहेको छ । त्यसैगरी जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रु.आठ करोड ५० लाख र नेपाल सरकार -नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७