प्रचण्डले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा


१ मंसिर २०७९, बिहीबार
chitwan 3 chunab

चितवन । प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मंसिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यस पटक पनि सुरुआती चरणबाटै चर्चामा रह्यो । विशेष गरेर २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि यो क्षेत्र सधैँ चर्चामा रह्यो । यसपटक पनि दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने बताएका थिए तर अन्तिम समयमा गोरखा गएपछि यो क्षेत्रमा माओवादीको तर्फबाट चिकित्सक पेशा छाडेर डा. भोजराज अधिकारी निर्वाचनमा होमिएका छन् ।

सधैं अस्पतालमा बिरामी जाँच्दै गरेका भेटिने डा. अधिकारी बुधबार चुनावी अभियानको क्रममा घरदैलोमै बिरामीको चेकजाँच गर्दै गरेको भेटिए । प्रचार प्रसारको अवधि सकिनै लाग्दा डा. अधिकारीको दौडधुप झनै बढेको देखिन्थ्यो । सुरुआती चरणमा आफ्नो एजेण्डा बुझाउन समय लागे पनि अहिले मतदातालाई आश्वस्त पार्न सफल भएको अधिकारी बताउँछन् ।

नेपाली कांग्रेसको बढी प्रभावको रुपमा रहेको यस क्षेत्रमा सत्ता गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कडा चुनौती दिइरहेको छ । एक पटक सांसद बन्दा दुई पटक मन्त्री बनेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा उम्मेदवारी दिएका पाण्डे बाम गठबन्धनका उम्मेदवार ‘प्रचण्ड’ सँग पराजित बनेका थिए । प्रचण्डले पाण्डेलाई नौ हजार तीन सय ४१ मतान्तरले पराजित गरेर सांसद बनेका थिए ।

एमालेको साथ पाएका प्रचण्डले ४८ हजार दुई सय ७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा निर्वाचन लडेका पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गरेका थिए । निर्माण व्यवसाय क्षेत्रबाट चिनिएका पाण्डे चितवन ३ को लागि चीरपरिचित अनुहार हुन् । उनी पटक–पटक गरी अहिलेसम्म पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका छन् । योबीचमा उनी २०७० सालको संविधानसभा निर्वाचनमा जित हासिल गरेर मन्त्री समेत भएका थिए ।

माडीमा विशेष प्रभाव जमाएका पाण्डेले पनि घरदैलोलाई तीव्रता दिइरहेका छन् । कांग्रेसको राम्रो प्रभाव हुँदा हुँदै प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएको भन्दै भोट आफूतिर तान्न पाण्डे प्रयासरत देखिन्छन् । त्यसो त राम्रो प्रभाव रहेको अर्को दल नेकपा (एमाले) बाट उम्मेदवार नरहेपछि त्यसको फाइदा उठाउने दाउमा पाण्डे रहेका छन् ।

बलियो पार्टीको रुपमा रहेको चितवन ३ मा यस पटक नेकपा (एमाले) ले उम्मेदवार उठाएन । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा फिर्ता लिएका थिए । नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ । कोइराला माछा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन् । एमालेको बलमा कांग्रेसको मत समेत पाएर चुनाव जित्ने रणनीतिमा कोइराला छन् । यो निर्वाचन क्षेत्रमा मुख्यगरी स्वतन्त्र उम्मेदवार कोइराला, गठबन्धनका साझा उम्मेदवार अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

यसै क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल सूर्यमुखी फूल चुनाव चिह्नमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन् । पौडेल यसअघि पनि स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखको बागी उम्मेदवार बनेका थिए । तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर र एक पटक राष्ट्रियसभा सदस्य भएका पौडेलले पार्टी निर्णयको विरोधमा विद्रोह गरेर चर्चामा आएका थिए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा माहोल बनाउँदै लगेकाले पनि यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी निस्किृय बनाएसँगै यस क्षेत्रमा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवाले आ–आफ्नो जित पक्का रहेको दाबी गरे पनि यस क्षेत्रको चुनावी माहोल भने रोचक बन्ने निश्चित छ । पाँचदलीय गठबन्धनबाट क्षेत्र नं ३ प्रदेशतर्फ (१) मा कांग्रेसका डा. सूर्यकान्त घिमिरे, (२) मा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालको उम्मेदवारी छ । एमालेले (१) मा कृष्णप्रसाद भुर्तेल र (२) मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ । राप्रपाले (१) मा गिरबहादुर तामाङ (ज्ञानजङ्ग लामा) र (२) मा रिना गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरका १९ वटा वडा र माडी नगरपालिका चितवन क्षेत्र नं ३ मा पर्छन् । यस क्षेत्रमा कूल एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । यो सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजीकुमारी महतो निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२, एमालेका उम्मेदवारले ३० हजार छ सय नौ र राप्रपाका उम्मेदवारले सात हजार चार सय ५४ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले चार वटा, माओवादी केन्द्रले सात वटा, एकीकृत समाजवादीले चार वटा, राप्रपाले दुई वटा र स्वतन्त्र उम्मेदवार एक जनाले वडाध्यक्ष जितेका थिए । वडाअध्यक्षले पाएको एकीकृत मतमा एमाले अगाडि छ । त्यहाँ एमालेले २९ हजार सात सय ७१, नेपाली कांग्रेसले २९ हजार तीन सय ४३, माओवादी केन्द्रले १० हजार नौ सय ४०, राप्रपाले छ हजार एक सय ९८, एकीकृत समाजवादीले पाँच हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले तीन हजार पाँच सय ५९ मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७