गठबन्धनको अपिल : बहुमत दिनुस्, पाँच बर्षमा समृद्ध नेपाल बनाउँछौं


१ मंसिर २०७९, बिहीबार
Gathabandhan

काठमाडौं । सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन अपील गरेको छ । शून्य समय शुरु हुनुअघि गठबन्धनका चार दलले एक अपील जारी गर्दै बहुमत दिएर जिताउन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको योगठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि आफूहरुलाई मतदान गरेर जिताउन भनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपील जारी गरेर आफूहरुलाई बहुमत दिए पाँच वर्ष स्थिर सरकार बनाउने जनाएका हुन् ।

उनीहरुले मंसिर ४ को निर्वाचनले संसद विघटनकारी र प्रतिगमनका पक्षधरहरु गठबन्धनलाई पराजित गर्नुपर्ने पनि जिकिर गरेका छन् । ‘गठबन्धनका प्राथमिकता अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधार छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्’, उनीहरुले भनेका छन्, ‘यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन । गठबन्धनको स्पष्ट बहुमतबाटै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो ।’

गठबन्धनले प्रतिगमनको खतरा अझै कायमै रहेको बताउँदै आफूहरुले बहुमत नपाए फेरि प्रतिगमन दोहोरिने उल्लेख गरेका छन् । ‘संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई–दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ,’ उनीहरुले भनेका छन्, ‘गठबन्धन सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमासमेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् । झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराएको छ ।’

अपीलमा कांग्रेस नेतृत्वको सरकारले विदेश नीतिमा सन्तुलन बनाएको, नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै जीवनयापनका स्रोत साधनको नियमित आपूर्ति गर्न सहज भएको दाबी गरिएको छ ।

five party statement TXcI1iP9Bv

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७