हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन


५ मंसिर २०७९, सोमबार
Mat petika sankhuwasabha
फाइल फोटो

डोल्पा । डोल्पाका आठ वटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिका मात्र सदरमुकाम पुगेको छ ।
जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।

बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिए । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।

भौगोलिक रुपमा विकट भएकाले तीन वटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरु समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्‍याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७