देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ : गगन थापा


६ मंसिर २०७९, मंगलवार
Gagan Thapa 2 1

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले त्यसका लागि पार्टीभित्र छलफल शुरु भइसकेको बताए ।

प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको बताए । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै नागरिकलाई विश्वस्त बनाउने उनले बताएका छन् । थापाले भने, ‘हाम्रा अगाडि ठूलो चुनौती छ, यो चुनौतीको सामना गर्नका लागि देशभरको चुनावको प्रारम्भिक सङ्केतबाट पनि हामी यतिकुरा भन्नसक्छौँ । नेपालमा नेपाली नागरिकले स्थिर सरकार मात्र खोजेको होइन, अब नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको देखिन्छ । र यो नयाँ चालक पनि आजको दिनमा नेपाललाई कसैले दिनसक्छ भने त्यो हाम्रो पार्टी नेपाली कांग्रेस मात्रै हो ।’

Gagan Thapa 1 1

उनले संसदीय दलको चुनावको तयारी थाल्ने बताएका छन् । उनले यस चुनावबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास पनि व्यक्त गरे । नयाँ सरकारले आम नागरिकलाई दिन प्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने उनले बताए । थापाले चुनाव परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको बताएका छन् ।

उनले भने, ‘मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरिरहेका छन् । नेपालमा चुनाव भयो । संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । आम मानिसहरु खुशी छन् । तर संविधानमा हामीले गरेका वाचाहरु पूरा हुन सकेको छैन । त्यसमा उनीहरु निराश छन् । आक्रोशित छन् । अब सरकार बन्ना साथै दिन, रात एक गरेर हामीले तत्कालै आम मानिसलाई हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्छ ।’ उनले चुनावका क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्ने सङ्कल्प गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७