काठमाडौंमा गहना चोरीको आरोपमा १५ जना पक्राउ


८ मंसिर २०७९, बिहीबार
chori

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो ।

कार्तिक २८ गते काठमाडौं महानगरपालिका– ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरुलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन् ।

त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही तथा रामेछापका २४ वर्षीय सुर्वण मगर रहेका वरिष्ठ प्रहरी उपरिक्षक बोहराले जानकारी दिए । उनीहरुको साथबाट ‘तौल ३८.५ तोला’ लेखिएको सुनको गिलास एक थान, सुनको तिलहरी एक थान, सुनको नौगेडी २ थान, हिराजस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले बताए ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरुलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षिय देविराज राई, धादिङका ३० वर्षिय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर बि.क. र ३८ वर्षीया मनिला तामाङ रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउन्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोशाक, फेनारगन, डाइजेपाम र नुफिन गरी जम्मा ५९१ एम्पुल लागुऔषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७