उपसचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ मंसिर २०७९, बिहीबार
Akhtiyar

काठमाडौं । सिंचाईं आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव र सवइन्जिनियरसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा. तपेन्द्रबहादुर शाह र सवइन्जिनियर महेश बुढ्थापा तथा उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिंचाईं आयोजनामा नभएको काम देखाइ बढी रकम मूल्याङ्कन गरेर झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा भुक्तानी दिएर भ्रष्टाचार गरिएको अख्तियारको दावी छ । यसरी दुई लाख ११ हजार भुक्तानी दिइएको थियो ।

सबइन्जिनियर बुढ्थापाले नक्कली बिल भरपाइ, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख शाहले उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको आरोप छ । शाह र बुढ्थापाविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ ।

गैराज्युला कृषि सिंचाईं निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सेजुवाल, सचिव माया र कोषाध्यक्ष बिजकन्याले सिंचाईं आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गराइ आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्यांकन गराइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । उपभोक्ता समितिका तीनै पदाधिकारीविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७