कोरियामा कामदार पठाउन हवाई टिकट छाप्ने तयारीमा सरकार


९ मंसिर २०७९, शुक्रबार
eps korea

काठमाडौं । सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाई टिकट छाप्ने तयारी गरेको छ । काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइ टिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष वा कोभिड–१९ का कारण सीधा उडानमार्फत पठाउनुपर्ने शर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी दिएको छ ।

शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको थियो । भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात् ८ हजार ७८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५९५ जनाले आवेदन दिएका थिए भने परीक्षामा १४ हजार ४३ सहभागी थिए ।

उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ । पहिलो चरणमा ७ हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको थियो ।

उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने शाखाले जानकारी दिएको छ । २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भइ रोष्टरमा छन् ।

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर÷जनवरी महिनामा हुनेछ । सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ ।

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ । नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपिएस) सम्झौता भएको थियो । सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो संख्या बढाउँदै गएको थियो ।

ईपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । कोरियामा ईपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ । पहिलो सूचीमा कम्बोडिया छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७