वाम शक्तिहरु एक हुन आवश्यक : पृथ्वीसुब्बा गुरुङ


९ मंसिर २०७९, शुक्रबार
prithivi subba
फाइल फोटो

लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले जनताले दिएको मत र विश्वासलाई सधैं सम्मान गर्ने बताएका छन् ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले आम मतदातालाई धन्यबाद व्यक्त गर्दै जनताले दिएको विश्वासलाई टुट्न नदिने र त्यसको सधैं सम्मान गरेर अगाडि बढ्ने बताए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङले देशमा सुशासन, विकास र समृद्धि ल्याउने पार्टी एमाले भएको भन्दै मतदाताले दिएको मतले सो कुरा पुष्टि भएको दावी गरे ।

गुरुङले प्रदेश सभाका सिट गुमाउनु परे पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न आफूलाई जिताएको भन्दै राष्ट्रिय स्वाधिनताको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने आश्वासन दिएका थिए ।

लमजुङमा ५ बर्षभित्रमा एक घर एक धारा बनाउने, प्रत्येक पालिकामा निर्माणधीन अस्पताल सम्पन्न गर्ने, पालिकाको केन्द्रसम्म कालोपत्रे सडक, वडा कार्यालयसम्म ग्राभेल सडक निर्माण गरी बाह्रै महिना चल्ने बनाउने कुरामा आफू लागि पर्ने बताए ।

जनताले एमालेलाई समानुपातिकतर्फ अझै बढी मत दिएको बताउँदै मुलुकको राजनीतिक स्थिरता कायम गर्ने जिम्मा एमालेको भएको बताए । कुनै पनि पार्टीको बहुमत नपुगेको अवस्थामा सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने नेता गुरुङको भनाइ थियो । गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिने क्रममा नेकपा माओवादी केन्द्रका महासचिव एवं प्रतिनिधिसभा उम्मेदवार देवप्रसाद गुरुङले दुवै मिलेर वाम शक्तिलाई एक गराउनेतर्फ लाग्नुपर्ने बताएका थिए । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७