नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी


१० मंसिर २०७९, शनिबार
hitbahadur kaC6tqoolJ

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । यही मंसिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्री समेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७