धाँधली भएको भन्दै झलनाथ खनालद्वारा पुनः मतदानको माग


१० मंसिर २०७९, शनिबार
Jhalanath Khanal Mahesh Basnet

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने उनले माग गरेका छन् ।

शुरुबाट नै लगातार त्रुटिहरु देखिएको बताउँदै उनले भने, ‘खसेको भन्दा धेरै गणना कसरी हुन्छ ? कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’ पछिल्लो पटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । अहिले २ बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् ।

‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्व प्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो । ‘त्रुटि रोकिएन । अब हाम्रा प्रतिनिधिहरुले त्यहाँ हस्ताक्षर गर्दैनन्, त्यो सम्भव पनि छैन’, खनालले भने । पछिल्लो गणनाअनुसार, इलाम–२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको अग्रता कायमै छ ।

अहिलेसम्म एमालेका उम्मेदवार महेश बस्नेत नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालभन्दा २,४५५ मतले अघि छन् । बस्नेतले १८ हजार ५४२ मत ल्याउँदा खनालले १६ हजार ८७ मत प्राप्त गरेका छन् । हालसम्म ४२ हजार ६४७ मतगणना भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७