प्रत्यक्षतर्फ १५४ सिटको टुंगो लाग्दा यी ११ स्थानमा बाँकी


११ मंसिर २०७९, आईतवार
Mat gadana Malekhu

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जितेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकिकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा–१, स्याङ्जा(२, सुनसरी(१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर-१, महोत्तरी-१ र रामेछापको नतिजा आउन सकेको छैन । दोलखा–१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।

सुनसरी-१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् ।
सुनसरी–३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छन् । महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उहाँलाई पछ्याइरहेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७