मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित


११ मंसिर २०७९, आईतवार
dik bahadur limbu morang

मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । चीरपरिचित प्रतिस्पर्धी नेकपा (एमाले) का घनश्याम खतिवडालाई ४३० मतले हराउँदै लिम्बू सांसद निर्वाचित भएका हुन् । लिम्बूले २७ हजार २९७ मत प्राप्त गरेर संसदको यात्रा तय गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले २६ हजार ८६७ मत मात्रै ल्याएका छन् ।

खतिवडाले मतगणनाको सुरुवातदेखि नै झिनो मतको अग्रता कायम राखेका थिए । तर अन्तिम समयमा उछिनेर लिम्बूले नतिजा आफ्नो पक्षमा पारेका छन् । चुनावको मैदानमा लिम्बू र खतिवडा निक्कै पुराना प्रतिस्पर्धी हुन् । दुवै जना लेटाङ नगरपालिकाका बासिन्दा हुन् ।

स्थानीय निकाय निर्वाचन (२०४९) मा लिम्बूलाई पराजित गर्दै खतिवडा तत्कालीन लेटाङ गाविस (गाउँ विकास समिति)को अध्यक्ष चुनिएका थिए । दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा भने लिम्बूसँग खतिवडा पराजित भए । लिम्बूले १५ हजार २०२ मत ल्याउँदा खतिवडाले १२ हजार ९८९ मत मात्रै प्राप्त गरे ।

२०७४ सालको निर्वाचनमा वाम (एमाले–माओवादी) गठबन्धनका उम्मेदवार खतिवडा उनै लिम्बूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका थिए । ३७ हजार ५२४ मतका साथ खतिवडा विजयी हुँदा लिम्बूले ३१ हजार ४३६ मत मात्रै पाए ।

चुनावी मैदानमा भएको चौथो भेटमा भने लिम्बूसँग खतिवडा हारेका छन् । विभिन्न ४ वटा निर्वाचनमा आमनेसामने भएका लिम्बू र खतिवडा २–२ पटक निर्वाचित भएका हुन् । पहिलो संविधानसभा निर्वाचन (२०६४) मा भने लिम्बू माओवादीका उम्मेदवार नगेन्द्र धिमालसँग पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७