मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल


१३ मंसिर २०७९, मंगलवार
Madhesh Pradesh1643628018

जनकपुरधाम । मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर पहिलो पार्टी बनेको छ ।

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधिसभाका लागि एमालेले सिरहा-१, धनुषा-३, सर्लाही-३, बारा-१,पर्सा-,सिरहा-३, बारा-३ र महोत्तरी-१लगायत क्षेत्रमा जितेको छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी–१(१), सिरहा-१ (१), सिरहा-२ (२), सिरहा ३ (१), धनुषा-१ (१),धनुषा-२ (१), धनुषा-३ (२), धनुषा-४ (२), रौतहट-२(१), बारा-१ (१), बारा ३(१), बारा-४ (१), बारा-३ (२), महोत्तरी १ (१) र महोत्तरी ४ (१) गरी १५ स्थानमा जितेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट–४, पर्सा-२, पर्सा-४, सप्तरी-४ र महोत्तरी-४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३ (१), धनुषा— ३ (१), धनुषा-४(१), सर्लाही-२ (१), सर्लाही-२ (२), सर्लाही-४ (१), रौटहट-१ (१), रौटहट-१ (२), रौतहट-३ (२), पर्सा-२ (१), पर्सा-३ (२), पर्सा-४ (१) र धनुषा १ (१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभामा सप्तरी-१, सिरहा-४,पर्सा-१, बारा–२, सिरहा–२ र धनुषा १ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा-२ (२), पर्सा-१ (२), पर्सा-४ (२), बारा-१ (२), रौतहट-४ (२), सर्लाही-३ (२), सिरहा-१ (२), बारा-२ (२) र महोत्तरी ४ (२) मा जितेको छ । विसं २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १९ सिट जितेको थियो ।

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधिसभामा लोसपाले महोत्तरी-२, सर्लाही-१ र महोत्तरी-३ मा तथा प्रदेशसभामा पर्सा-२ (२), महोत्तरी-२ (१), महोत्तरी-३ (१), महोत्तरी-३ (२), सर्लाही-१ (१), सिरहा-४ (२) र बारा-४(२) मा जितेको छ ।

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधिसभामा पार्टी अध्यक्ष डा. सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा पराजित गरे । सो पार्टीले प्रदेशसभामा सप्तरी–१ (२), सप्तरी–२ (१), सप्तरी–२ (२), सप्तरी–३(२), सिरहा-४ (१) र सिरहा-२ (१) मा जितेको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधिसभातर्फ सर्लाही-४, रौतहट-२ र रौतहट-३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा-३ (१), बारा-२ (१), महोत्तरी-२ (२), रौतहट-३ (१), सर्लाही-३ (१) र सप्तरी-४ (२) मा जितेका हुन् ।

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यस पटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यस पटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित भएका छन् । प्रदेशमा माओवादीले सर्लाही-४ (२), महोत्तरी-१ (२), रौतहट-४ (१) र पर्सा-१ (१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाका लागि रौतहट-१ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट-२ (२), सर्लाही-१ (२), सिरहा-३ (२) र सप्तरी-४ (१) गरी चार सिट जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७