प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरु


१३ मंसिर २०७९, मंगलवार
save
फाइल फोटो

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यस पटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यस पटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्री समेत भइसकेका भीमप्रसाद आचार्य यस पटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका महेन्द्रबहादुर शाही यस पटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।
गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्री समेत बनेका पृथ्वी सुब्बा गुरुङ यस पटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।

विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ यस पटकको निर्वाचनमा काठमाडौँ ८ बाट सांसद पदमा विजयी भएका छन् । गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्री समेत बनेका थिए ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

विसं २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेशसभामा निर्वाचित सरेश नेपालले यसपटक प्रतिनिधिसभामा उम्मेद्वारी दर्ता गराए पनि माओवादीका माधव सापकोटाबाट पराजित भएका छन् । नेपाल यसअघि वाग्मती प्रदेशको मन्त्री समेत भएका थिए ।
विसं २०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को पहिलो मुख्यमन्त्री निर्वाचित भएका शेरधन राई यसपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का सुदन किरातीबाट पराजित भएका छन् ।

यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य निर्वाचित मणिराम फुँयालले काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट टिकट पाएका थिए । उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७