इलाम–१ को नतिजाबारे माधवले भने, ‘पुनः मतदानको मागसहित कानूनी बाटोमा जान्छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय राजनीतिको विषयमा आफूहरूले गम्भीर छलफल गरेको बताएका छन् ।
आज (मंगलबार) बसेको सचिवालय बैठकपछि उनले भने, ‘हामीले निर्वाचनबारेमा समीक्षा गर्यौं । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौं । इलाममा अनेकौं खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौं ।’
इलाम–१ बाट नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । उनले आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आएका छन् ।
अध्यक्ष नेपालले देश अझै दक्षिणपन्थी बाटोमा जान सक्ने भएकाले सतर्क हुनुपर्नेबारे गठबन्धन दलमा छलफल गरेको जानकारी दिएका छन् । सरकारको नेतृत्वबारे अहिलेसम्म कुनै छलफल नभएको समेत बताए । उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नदेखेको प्रष्ट पारेका छन् ।