एमालेकी भगवती चौधरी विजयी, गच्छदारको ३० वर्षे संसद यात्रामा लगाई दिइन् ‘ब्रेक’


१३ मंसिर २०७९, मंगलवार
Bhagwati1669709361

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा भारी मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । यसअघि दुई पटकको प्रतिस्पर्धामा चौधरीलाई गच्छदारले पराजित गरेका थिए । चौधरीले यस पटक गच्छदारलाई ५ हजार बढी मतान्तरले हराएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

२०७० को संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु प्रतिस्पर्धी थिए । तर गच्छदारमाथि अनेक जालझेल गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लाग्यो । त्यसविरुद्ध चौधरी सर्वोच्चसम्म पुगिन् । तर उनको मुद्दामा मंसिर ४ को नतिजा आउन लाग्दासम्म सुनुवाइ भएको छैन ।

गच्छदार २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा भगवती एमालेबाट मैदानमा थिइन् । २०७४ मा गच्छदारले कांग्रेसमै फर्किएर टिकट लिएका थिए । यी दुवै निर्वाचनमा गच्छदारले बाजी मारेका थिए । तर, यो जीतको कथा सहज र विवादरहित हुन सकेन ।

०७० को निर्वाचनमा सत्ता र शक्तिको आडमा निर्वाचन जितेको आरोप गच्छदारलाई लागेको थियो । २०७४ मा पनि उनले निर्वाचनमा धाँधली गरेको भन्दै अदालतमा मुद्दा नै परेको थियो । तर ५ वर्ष बित्दा पनि संवैधानिक अदालतले चौधरीद्वारा दायर मुद्दाको फैसला गरेन ।

यो क्षेत्रमा ०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए । २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भए । २०७४ मा उनले फेरि कांग्रेसबाट चुनाव जितेका थिए । यस पटक पनि जित्ने उनको लक्ष्य भगवती बाधक बनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७