बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आयोग नै अनिर्णित


१४ मंसिर २०७९, बुधबार
Dinesh Thapaliya 2 scaled

काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना शुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ । आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए ।

स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्यु भएको थियो । यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ । आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७