काठमाडौंमै गाई र भैंसीपालनबाट मासिक १० लाख आम्दानी


१४ मंसिर २०७९, बुधबार
Buffalow 1
फाइल फोटो

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका हुन् । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैंसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् ।

अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्री वितरण गरेर गाई समेत पालन सुरु गरेका छन् । विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेकी लामिछानेकी श्रीमती संगीता पनि इन्जिनियर नै हुन् । ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैंसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछाने भन्छिन् ।

उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाइन् ।

लामिछानेका अनुसार हाल भैंसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उनले बताइन् । गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैँसीको मल समेत उनले बिक्री गर्छन् ।

लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृह जिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैंसी र ५० बाख्रापालन गरेका छन् । यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेती समेत गरिएको छ । गोरखामा भने चार जनालाई रोजगारी दिएको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७