निहारिका राजपुत प्रकरण : उच्च अदालत जनकपुरमा सुनुवाइ जारी


१४ मंसिर २०७९, बुधबार
niharika rajput 1

जनकपुर । कुमारी आमाको नामले परिचित निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरमा आज (बुधबार) सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले आफ्ना प्रेमी शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।

बच्चा समेत जन्मिसकेको अवस्थामा धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाई दिएको थियो । अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौंमा अनसन बसी ‘न्याय’ को माग गरेकी थिइन् । निहारिकाको आन्दोलन लगत्तै सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगेको थियो । निहारिकाले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । त्यस लगत्तै सरकारसँग वार्ता गरी प्रतिवादी शिवराज श्रेष्ठ र निहारिकाबाट जन्म भएको बालकको डिएनए जाँच गराउने गरी सहमति गरिएको थियो ।

सहमति अनुसार सरकारी वकिलले उच्च अदालत जनकपुरमा प्रतिवादी र बालकको डीएनए म्याच गराउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाएको थियो । उक्त टेष्टमा डीएनए म्याचिङ भएको थियो । डीएनए टेष्टपछि बुधबार उच्च अदालत जनकपुरमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । वादी नेपाल सरकार र निहारिकाका तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानासहितका ५ जना सरकारी तथा निजी वकिलले बहस गर्ने तयारी गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्र, अधिवक्ता प्रदीप मिश्रा र अधिवक्ता मनिषकुमार श्रेष्ठले बहस गर्ने भएका छन्

बुधबार खाजा समयपछि शुरु भएको बहस आजै सकिने सम्भावना भने कम रहेको जनाइएको छ । ढिलो समयसम्म बहस भई बहस सकिएमा आजै आदेश वा फैसला आउनसक्ने सम्भावना रहेको छ । आजै बहस नसकिएमा हेर्दाहेर्दैमा राखेर भोलि बिहानबाट पुनः सुनुवाइ गर्ने वा अन्य आदेश दिएर थप बुझ्ने समेत हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७