गृहमन्त्री खाँणकै गृह जिल्ला रुपन्देहीमा कांग्रेसको ‘शर्मनाक’ हार, कार्यकर्ता असन्तुष्ट

पार्टीभित्रै ‘अन्तरघात’ को आरोप–प्रत्यारोप शुरु


१४ मंसिर २०७९, बुधबार
balkrishna 9

रुपन्देही । यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले रुपन्देहीमा ‘शर्मनाक’ हार व्यहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सिट पनि कांग्रेसले जित्न सकेन । जबकी २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि कांग्रेसले रुपन्देही ४ र ५ मा प्रतिनिधिसभा सदस्य जितेको थियो ।

यस पटक गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफैं रुपन्देही–३ बाट चुनावमा उठेका थिए । तर, उनले समेत निर्वाचन हारे । कांग्रेस सरकारमा रहँदा गराएको निर्वाचनमा गृहमन्त्री पराजित भएको श्रृंखला खाँणले पनि अगाडि बढाएका छन् । उनलाई राप्रपाका दीपक बोहराले पराजित गरे । रुपन्देही–५ बाट सधैं जित्दै आएका भरतकुमार शाह समेत यस पटक पराजित भए । उनी सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत हुन् ।

बहालवाला गृहमन्त्रीकै गृह जिल्लामा कांग्रेस प्रतिनिधिसभातर्फ शून्य भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन् ।

कांग्रेसले हार बेहोरेपछि पार्टीभित्र आरोप–प्रत्यारोप शुरू भएको छ । कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, कांग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंलगायतले विज्ञप्ति जारी गर्दै अन्तरघातको आरोपप्रति आपत्ति जनाएका छन् ।

गृहमन्त्री खाँण निकट कार्यकर्ताले संस्थापनइतर समूहकै अन्तरघातका कारण पराजय व्यहोरेको आरोप लगाएका थिए । त्यो आरोपको संस्थापनइतर समूहले प्रतिवाद गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७