निहारिकाको मुद्दामा अग्राधिकार आदेश, मंसिर २१ गतेलाई तोकियो पेसी


१४ मंसिर २०७९, बुधबार
niharika rajput 1

जनकपुर । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले मंसिर २१ गतेलाई पेसी तोकेको छ । आज (बुधबार) न्यायाधीश भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले प्रतिवादी शिवराज श्रेष्ठको पक्षबाट बहस नसकिँदै मुद्दालाई अग्राधिकार राख्न आदेश दिएको हो ।

अदालतकी प्रवक्ता नुतन झाले मुद्दाको पेसी मंसिर २१ गतेका लागि तोकिएको जानकारी दिइन् । दुवै तर्फको बहस सकिए २१ गते नै इजलासबाट फैसला आउन सक्ने उनले जानकारी दिएकी छन् । उनका अनुसार समय अभावका कारण प्रतिवादी श्रेष्ठको तर्फबाट बहस हुन सकेन ।

निहारिकाको तर्फबाट भने सरकारी वकिल यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना र अधिवक्ता रिंकु यादवले बहस गरे । कात्तिक १८ गते निहारिकाका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको प्रतिवेदन अदालतले प्राप्त गरेको थियो ।

‘डीएनए म्याच भएएपछि श्रेष्ठको जबरजस्ती करणीबाट नै राजपुत गर्भवती भई बच्चा जन्मिएको बहस गरेका छौं’, निहारिकाकी कानुन व्यवसायी यादवले भनिन् । निहारिकाले आफूलाई पेय पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको भन्दै श्रेष्ठविरुद्ध ०७६ माघ १९ मा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले मेडिकल प्रतिवेदनमा निहारिकाले श्रेष्ठ र आफू श्रीमान–श्रीमती भएको बताएकाले जबरजस्ती करणी पुष्टि नहुने फैसला गरेको थियो ।

निहारिकाले भने श्रेष्ठले आफूलाई जबरजस्ती करणी गरी गर्भ रहेकाले डीएनए जाँच गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । उनले आफूले अदालतबाट न्याय नपाएको भन्दै राष्ट्रपति भवन, शीतल निवास अगाडि आत्महत्याको प्रयसाले गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७