बाजुरामा चेतन अयडीको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ


१५ मंसिर २०७९, बिहीबार
judda bahadur yedi

बाजुरा । बाजुरामा अनेरास्ववियुका नेता चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जना पक्राउ परेका छन् ।

घटनामा संलग्न भएको आशंकामा वडाध्यक्ष अयडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको । मंसिर ४ गते भएको निर्वाचनमा बाजुराका २० भन्दा बढी ठाउँमा विवाद उत्पन्न भएको थियो । सोही कारण स्थगित मतगणना आज (बिहीबार) मात्र सुरु भएको छ ।

निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर हत्या गरिएको थियो । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तीमध्ये वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजी गरिरहेको बताएको छ । पक्राउ परेका वडाध्यक्ष अयडी यसअघि पनि विवादमा तानिएका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाजुराले एक लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७