समानुपातिकतर्फ एक करोड तीन लाख ९२ हजार मतगणना, कसकाे कति पुग्याे ?

एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता पाउन ‘सकस’


१७ मंसिर २०७९, शनिबार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौँ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म एक करोड ३ लाख ९२ हजार बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।

कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।

एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । एकीकृत समाजवादी अझै पनि राष्ट्रिय दल बन्ने संघर्षमै छ । उसले तीन लाख १० हजारदेखि २० हजारसम्म मत ल्याए मात्र राष्ट्रिय दल बन्न सक्छ । तर एकीकृत समाजवादीलाई आएको अहिलेको मतको अवस्थालाई हेर्दा राष्ट्रिय दल बन्न निकै हम्मे परेको छ । राष्ट्रिय दल बनेको खण्डमा एकीकृत समाजवादीबाट चार जना सांसद थपिने छन् भने थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा प्रत्यक्षतर्फको मतका आधारमा यसअघि नै निलठर्वाचित १० सांसद मात्र एकीकृत समाजवादीमा हुनेछन् ।

निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।

दोलखा, बाजुरा र स्याङ्जा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी छ । आयोगले पर्सीसम्म समानुपातिकतर्फको मतगणना सक्ने जनाएको छ । समानुपातिकमा दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन् ।

त्यसो गर्दा एक तिहाइ महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको छ । ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७