नेपत्थ्यको विराटनगरबाट ‘मानवताको लागि संगीत’ अभियान शुरु


१७ मंसिर २०७९, शनिबार
Amrit Gurung nepatya 1

मोरङ । दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको शुरु गरिएको विराटनगरबाटै लोक रक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियान थालेको छ । अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले गुञ्जायमान भएको थियो ।

Amrit Gurung nepatya 3

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेंडाको ऊन जस्तो’ प्रस्तुत गरेको थियो । गाउनु अघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर शुरु गरिएको उक्त गीतदेखि नै शुरु भएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा शुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरता साथ अघि बढाइएको थियो ।

Amrit Gurung nepatya 2

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक–पटक मानवसेवा आश्रमको उद्देश्यबारे जानकारी दिएका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्विरसहितका दृष्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न शुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक, दुइटा बस र केही साना सवारीमार्फत वीरगञ्जतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७