माओवादी निर्णय : सरकार गठनका लागि सबै विकल्प खुला राख्ने

एमालेसँग पनि संवाद हुन सक्ने


१७ मंसिर २०७९, शनिबार
mao
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि सबै विकल्पहरू खुल्ला राख्ने भएको छ ।
आज (शनिबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबैं विकल्प खुल्ला राख्ने निर्णय गरेको हो । माओवादी केन्द्रले सरकार गठनका लागि नेकपा एमालेसँग समेत संवाद हुनसक्ने जनाएको छ ।

सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन । अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोडने, तोड्ने निर्णय पनि गरिएको छैन ।’

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ ।

उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोंचमा पनि पार्टी नरहेको बताए । सोमबार (भोलि) अपराह्न २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७