‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’


१८ मंसिर २०७९, आईतवार
Bagmati 1
फाइल फोटो

काठमाडौं । वाग्मती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ हुने गरेको छ ।

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान चल्ने गर्छ । महाअभियानले शनिबार तिलगङ्गामा चार सय ९९ औँ हप्ताको सफाइ गरेको छ । सफाइबाट १.५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिइन् ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ वडाध्यक्ष हीरालाल तण्डुकार, वाग्मती सफाइ महाअभियानका अभियानकर्मीहरू क्रमशः डा. लक्ष्मी पौडेल, चक्रबहादुर चन्द, झलक ढुङ्गेल, नरेश श्रेष्ठ, दुर्गा रावल, मदन पोखरेल, आशा पाण्डे, रामशरण कार्कीलगायतको सक्रियता थियो ।

सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिका कृषि तथा वातावरण विभाग टेकुले व्यवस्थापन गरेको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेकोे अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।

यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।

स्थानीय सरकारको बेवास्ताले अभियानले गरेको सफाइ दिगो हुन नसकेको अभियानकर्मीको गुनासो छ । प्रदेश एवं केन्द्रीय सरकारले पनि फोहर व्यवस्थापनमा उचित नियम, कानुन नबनाउने र भएका नियम, कानुन पनि कार्यान्वयन नगर्दा फोहरबाट मोहर बनाउन उपयुक्त योजना नबनेको धेरैको ठम्याइ छ । नीति नै सही नभएकाले सफाइमा समस्या आइरहने अभियानकर्मीको ठम्याइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७