पूर्व म्यादी माया लुहार हत्या काण्ड : भारत भाग्नै लाग्दा समातिए आरोपी सशस्त्रका जवान

दायाँ हातमा काटिएको आलो घाउका कारण पक्राउ परे कोली


१८ मंसिर २०७९, आईतवार
maya luhar

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएका छन् ।

प्रहरीका अनुसार कोली भारततर्फ भाग्ने तयारीमा रहेका बेला कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट पक्राउ परेको गरिएको हो । शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका छन् । कोलीलाई अनुसन्धानका लागि बैतडी ल्याउने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन् ।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए । यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका छन् । मायाको बुधबार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार रेटिएको अवस्थामा घाइते फेला परेकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन् । घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन् ।

माया र नेहा मंगलबार घरबाट लुगा सिलाउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । घाइते नेहाका अनुसार भरतले ‘हामी कुराकानी गछौं तिमी यही बस,’ भनेका थिए । नेहा उनीहरूलाई पर्खेर त्यही बसिन् । अबेरसम्म दुबै जना नआएपछि नेहा उनीहरुको खोजीमा लागिन् । फुपुको हत्या गरिएको शव देखेपछि नेहा चिच्याएपछि भरतले चक्कुले उनको घाँटीमा प्रहार गरेका थिए । दोस्रो पटक प्रहार गर्न खोज्दा नेहाले प्रतिकार गरेको र त्यस क्रममा चक्कु भाँच्चिएको प्रहरीलाई बयान दिएकी छिन् । घाइते भएपछि नेहा भागेकी थिइन् ।

रातभर जंगलमा अलपत्र रहेकी घाइते नेहालाई भोलिपल्ट गोठालाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । नेहालाई फेला पारेपछि मायाको खोजी गरिएको थियो । नेहा भेटिएको ठाउँभन्दा करिब तीन किमी पर शिवनाथ गाउँपालिका–६ मा रहेको नेपाल टेलिकमको टावर नजिकै जंगलमा मायाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । घटनास्थल सडकभन्दा करिब एक सय ५० मिटर माथि छ । मायाको खल्तीमा मोबाइल फेला परेको छ । माया पूर्व म्यादी प्रहरी हुन् । घटनास्थलभन्दा केही पर मड भन्ने ठाउँमा भरतले फिर्ता गरेको मायाको मोबाइल फेला गरेको छ । घटनास्थलबाट रगत लागेको कालो क्याप, भाँचिएको अवस्थामा चक्कु बरामद भएको छ ।

मायाको हत्यापछि कोली बैतडीबाट भाग्दै डडेल्धुरा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो । त्यसपछि उनको मोवाइल स्वीच अफ थियो । प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए । आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए ।

आइतबार बिहान बसपार्क क्षेत्रमा आरोपी कोलीको हुलियासँग मिल्ने व्यक्ति प्रहरीको नजरमा परे । सादा पोसाकका प्रहरीले उनलाई निगरानीमा राखे । बसपार्कमा हिँडिरहेका उनलाई रोकेर चेकजाँच गरे । प्रहरीले दायाँ हातमा आलो घाउ भेट्टायो । त्यसपछि उनीप्रति प्रहरीको शंका झनै बढ्यो ।

प्रहरीले उनलाई सोधखोज गरे । बैतडी प्रहरीसँग समन्वयमा उनी फरार आरोपी कोली नै भएको एकीन गरियो । आरोपी कोली भारततर्फ भाग्न गड्डाचौकीतिर जाँदै गर्दा समातिएका थिए । ‘गड्डाचौकी भएर भारततिर जान खोजेका रहेछन्, हिँडिरहेको अवस्थामा शंका लागेर केरकार गर्दा आरोपी नै रहेको एकिन भयो,’ प्रहरी स्रोतले भन्यो । कोली घटनापछिको राति शिवनाथ गाउँपालिका–४ स्थित घरमै थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७