एमालेसँगको सहकार्य चुनावसँगै सकियो : उपेन्द्र यादव


१८ मंसिर २०७९, आईतवार
upendra yadav 1

मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको बताएका छन् ।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्‍यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकिया । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भने ।
अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ अहिले आएको जनमतलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’

यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘जसले परिवर्तन ल्याए ति क्रान्तिकारी शक्तिहरु पछि परेका छन् । जुन मक्सदका लागि ज्यान दिएका आन्दोलनहरु भए त्यो हाँसीमजाक जस्तो भएको छ, त्यो दुर्भाग्यपूर्ण भयो,’ यादवको भनाइ छ, ‘नेतृत्व गर्नेको कमजोरी भएको भएपनि यो मुलुकको क्यारेक्टर त्यस्तै खालको भएको छ । जुन पहिले पनि नेपालले भोेगेको हो र अहिले पनि त्यही देखिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७