‘इन्गेजमेन्ट’ टुटेपछि पुष्पा मृत्यु प्रकरण : युवक हिरासतमा


२० मंसिर २०७९, मंगलवार
pushpa YcFQXpWfvK

काठमाडौं । विवाह गर्ने सहमति (इन्गेजमेन्ट) टुटेपछि एक युवतीले आइतबार केटाको घरमै पुगेर आत्मदाह गरेकी छन् ।
काठमाडौंको बानेश्वरकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आत्मदाह गरेकी हुन् ।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुर अस्पताल लगिएकोमा सोमबार बिहान पुष्पाको मृत्यु भएको हो । प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि केटा पक्षले इन्गेजमेन्ट तोड्ने बताएपछि परिवारकै सहमतिमा रद्द गरिएको थियो ।

बिवाह नहुने भएपछि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् । पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुधनले इन्गेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधन बाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।

प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो । जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिए पनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एक जनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७