दीपक मनाङेबाट हामीले धेरै कुरा सिक्नु पर्छ : महासचिव भुसाल


२० मंसिर २०७९, मंगलवार
Deepak manage 2

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बाट धेरै कुरा सिक्नु पर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौँको तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नु पर्ने बताएका हुन् ।

महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क समेत गरे । महासचिव भुसालले भने, ‘उहाँ आफैले भन्नु भएको छ–राजनीति सेवा हो । जनसेवा हो । निःशर्त रूपमा गरिने जनसेवा हो । त्यो जनसेवामा एक्लै बसेर हुँदैन । पार्टीमा आबद्ध भएर जानुपर्ने रहेछ भन्ने महसुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ । म यहाँहरूसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरू गर्ने गरिएको पाइन्छ । तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छे नै हो, जसले राम्रो काम पनि गर्छ । कहिलेकाहीँ काम गर्दै जाँदा गल्ती पनि गर्छ । मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन ।’

उनले थपे, ‘विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ । भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ । राजीजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढ्छु भन्ने प्रतिबद्धताका साथ अगाडि बढ्नु भएको छ । त्यसलाई सकारात्मक ढङ्गले लिनु पर्दछ । र, समाजमा भएको अरू पनि विगतमा कहिलेकाहीँ बाटो बिराएर समाजले नरुचाउने खालका कामहरू गर्ने व्यक्तिहरू पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ । र, यसरी अघि बढ्ने प्रतिबद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु । र, भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढ्न सक्नुहोस् । उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस् । साँचो अर्थमा जनताको सेवक बनेर काम गर्न सक्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दाबी गरे । उनले युवा तथा खेलकुद मन्त्रीको रूपमा आफूले गण्डकी प्रदेशमा अरू प्रदेशले भन्दा धेरै काम गरेको जिकिर समेत गरे । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रूपमा महत्वपूर्ण निर्वाह गरेको उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७