पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम


२१ मंसिर २०७९, बुधबार
file 8hBdc0KW0R
फाइल फोटो

सिन्धुपाल्चोक । पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।

आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्षमतामा समेत वृद्धि हुने जानकारी दिए । तालिमबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ ।
यही मंसिर १९ गते सोमबारबाट सञ्चालन गरिएको तालिममा ४० सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारीले पर्यटकलाई राम्रो सत्कार गर्न सके पाँचपोखरी पर्यटनका माध्यमबाटै समृद्ध हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङ, वडा नं ४ का अध्यक्ष कुलबहादुर बस्नेत, गाउँपालिकाका प्रशासन प्रमुख रामप्रसाद न्यौपाने, थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमका संयोजक तामाङलगायतले पाँचपोखरीको पर्यटन उकास्न होटल र होमस्टेको महत्वपूर्ण भूमिका रहने बताए। तालिमका सहभागी दोकदोक तामाङले यस कार्यक्रमले थप सिकाइ र आत्मविश्वास बढ्ने बताए ।

तालिमको आगन्तुक रिसोर्ट प्रालिका व्यवस्थापक विमल पौड्याल, होटल यात्री ठमेलका एसिस्टेन्ट चिफ मोहनकुमार बस्नेतलगायतले सहजीकरण गरिरहेका छन् । पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गरेमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भई गाउँपालिकाको आयस्रोत बढ्ने विश्वास लिइएको गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७