एमाले अध्यक्ष ओलीको चुनाव खर्च १८ लाख ८२ हजार


२१ मंसिर २०७९, बुधबार
Kp oli Kailali

झापा । झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा चुनावी खर्च विवरण बुझाउन थालेका छन् ।

झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवारमध्ये बुधवार दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिएका छन् । जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार छ ।

जिल्लाबाट निर्वाचित पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म तीन जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मंगलवार चुनावी खर्च विवरण बुझाएका हुन् ।

ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। त्यस्तै झापा ५ (२)बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईंले चुनावी खर्च विवरण बुझाएका छन् ।

थापाले १२ लाख १८ हजार ९३० र बजगाईंले ६ लाख ४८ हजार ५९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाएको उनले बताए । झापा १ (२) मा १५ लाख र ५ (२)मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७